सीएफमोटो नेपालद्वारा देशभर जेन्युइन स्पेयर पार्ट्स उपलब्धता विस्तार
Monday Apr 06, 2026
वि.सं.२०८२ चैत २३ सोमवार ०७:१२
काठमाडौं । प्रिमियम मोटरसाइकल ब्रान्ड CFMOTO को नेपालस्थित आधिकारिक वितरक Rishi Trade Center ले ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवामा सुधार ल्याउने उद्देश्यसहित देशभर आफ्ना जेन्युइन स्पेयर पार्ट्सको उपलब्धता विस्तार गरेको घोषणा गरेको छ।
कम्पनीका अनुसार यो पहलले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरहरूमा सीएफमोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा तथा किफायती मर्मत सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।
सीएफमोटो नेपालले आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जमा समेत स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गरेको जनाएको छ।
उपत्यका भित्र कालोपुलस्थित सीएफमोटो सर्भिस स्टेसन, बुद्धनगरको काठमाडौं अटो क्लिनिक तथा सल्लाघारीको राइडर्स ग्रुप जस्ता अधिकृत सेवा केन्द्रहरूमा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध रहेका छन्।
कम्पनीले स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरका तालिम कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको जनाएको छ।
यस विस्तारले जेन्युइन तथा उच्च गुणस्तरका स्पेयर पार्ट्स, पारदर्शी तथा प्रतिस्पर्धी मूल्य निर्धारण, छिटो र प्रभावकारी सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कम्पनीले हालै नेपाली बजारमा CFMOTO 250 Dual EFI सार्वजनिक गरेको थियो। सो अवसरमा कम्पनीका प्रतिनिधिले नेपालभरका ग्राहकलाई सहज, भरपर्दो र किफायती आफ्टर–सेल्स सेवा उपलब्ध गराउनु नै मुख्य उद्देश्य भएको बताएका थिए।
देशव्यापी रूपमा स्पेयर पार्ट्सको उपलब्धता विस्तारसँगै सीएफमोटोले ग्राहकहरूको समय बचत गर्ने र मर्मत सेवा अझ सहज बनाउने विश्वास व्यक्त गरेको छ।




























