जागिर खान अन्तर्वारता दिन जादै हो ? एकपटक पढेर जानुस कसरि सफल हुने
Tuesday May 30, 2017
वि.सं.२०७४ जेठ १६ मंगलवार २३:१५

जागीर दिनुभन्दा पहिले जुनसुकै संस्थाले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरवार्ता लिएकै हुन्छ । वास्तवमा अन्तरवार्ता नै रोजगारी पाउने आधार हुन्छ । त्यसैले, अन्तरवार्ता महत्त्वपूर्ण चरण हो ।
जुनसुकै निकायले पनि जागीर दिने कि नदिने भन्ने अन्तिम निर्णय अन्तरवार्ताबाट गर्ने गर्छन् । त्यसैले पनि अन्तरवार्ताका लागि तयारी गर्नुपर्छ । अन्तरवार्ता दिने क्रममा बोली अक्मकिने, ओठ–मुख सुक्ने, डर चिन्ता लाग्ने हुन्छ । यी समस्याबाट उन्मुक्ति पाउन पनि तयारी गर्नुपर्छ । विषयगत रूपमा राम्रो तयारी गर्दा पनि अन्तरवार्ताको समयमा उपयुक्त हाउभाउ नहुँदा सफल नहुने हुन्छ । यही कारणले कतिपय अवस्थामा पाइसकेको रोजगारीसमेत फुत्किने गर्छ ।
अन्तरवार्तामा जानुभन्दा पहिले अन्तरवार्ता दिन लागेको कम्पनी र क्षेत्रको बारेमा सम्पूर्ण जानकारी तथा राम्रो ज्ञान राख्नुपर्छ । यसका लागि सो कम्पनीको वेबसाइट वा कार्यालयमा गई वार्षिक प्रतिवेदनको अध्ययन गर्नुपर्छ ।
अन्तरवार्ताको दिनमा टिपटप भएर जाँदा त्यसको प्रभाव केही न केही रूपमा पर्छ । त्यसैले, अन्तरवार्तामा औपचारिक पोशाक लगाएर जानु राम्रो मानिन्छ । यसले पार्ने प्रभाव पनि सकारात्मक नै हुन्छ ।
अन्तरवार्ताका समयमा आफ्नो शारीरिक हाउभाउलाई विशेष ध्यान दिनुपर्छ । अन्तरवार्ताको क्रममा बोलीको अत्यन्त ठूलो महत्त्व हुन्छ । त्यस्तै, बोल्दा प्रयोग हुने शैली, बोलीको गति, आत्मविश्वासले व्यक्तित्व दर्शाउँछ । शारीरिक हाउभाउ मौन सञ्चार प्रक्रिया हो । यसले आनीबानी, स्वभाव र मानसिक स्थितिको अवगत गराउँछ । कुनै पनि मानिसको बानी, सोचाइ र मनन गर्ने शैली एक–अर्कामा अन्तरसम्बन्धित हुन्छ । यी तीन पक्षले नै व्यक्तिमा आत्मविश्वास पैदा गराउँछ । शारीरिक दक्षता प्रभावकारी बनाउन र कामका लागि सक्षम छु भन्ने देखाउन विचार पुर्याउनुपर्ने हुन्छ ।
अन्तरवार्तामा बस्दा खुट्टा सीधा राख्नु पर्दछ । खुट्टालाई एक माथि अर्को खप्ट्याएर क्रश गरेर बस्नु हुँदैन । अन्तरवार्ताका क्रममा जहिले पनि सीधा हेरेर कुरा गर्नु पर्दछ । आँखामा हेरेर कुरा गर्दा अन्तरवार्ता लिने व्यक्तिमा उसको कुरालाई महत्त्व दिएको महसूस हुन्छ । यसैगरी अन्तरवार्ताका क्रममा सजिलैसँग प्रस्तुत भइरहेको देखाउनुपर्छ । अगाडि झुक्नुलाई मर्यादित मानिँदैन, बढी झुक्नुले चाप्लुसीको सङ्केत गर्छ भने पछाडि झुक्नुले नकारात्मक सन्देश दिन्छ ।
त्यसैगरी गम्भीर मुद्रामा बस्नुलाई पनि राम्रो मानिँदैन । हँसिलो मुद्रामा बस्नु पर्दछ । प्रसङ्गअनुसार मुसुक्क हाँस्ने गर्नुपर्दछ । यसले जस्तोसुकै काम र वातावरणमा पनि रमाउन सक्छ भन्ने सङ्केत गर्छ । अनुहारमा छुने, कपाल चलाउने जस्ता कार्यहरू र चाहिनेभन्दा बढी हाउभाउ गर्नु राम्रो होइन । यस्तो क्रियाकलापले अन्तरवार्ता लिने व्यक्तिलाई विचलन पैदा गराउँछ । यसले नकारात्मक धारणा बन्ने प्रबल सम्भावना रहन्छ ।
अन्तरवार्ताका क्रममा बढाइचढाइ नगरीकन आवश्यक मात्रामा मात्र बोल्नुपर्छ । प्रश्नको छोटो, तर स्पष्ट उत्तर दिने गर्नुपर्छ । धेरै लामो उत्तर दिँदा भन्न खोजेको छुट्न सक्छ र अन्तरवार्ताकारले ध्यान नदिन सक्छ ।
अभियान राष्ट्रीय दैनिक बाट साभार गरिएको




























