वेङ्गरले थप दुई बर्ष पुनः आर्सनलको टोलि सम्हाल्ने

Tuesday May 30, 2017
वि.सं.२०७४ जेठ १६ मंगलवार १३:५७

१६ जेठ, काठमाडौं- फ्रान्सेली प्रशिक्षक आर्सेन वेङ्गर अझै दुई वर्ष इन्ग्लिश क्लब आर्सनलको प्रशिक्षक रहने भएका छन् । क्लबसँग दुई बर्ष करार बढाउन सहमत भएपछि प्रशिक्षक वेङ्गरले थप दुई बर्ष आर्सनलको टोलि सम्हाल्ने भएका हुन् ।
आर्सनल यो सिजन च्याम्पियन्स लिगमा छनोट हुन् असफल भएपछि क्लबले प्रशिक्षक वेङ्गरलाई हटाउन सक्ने र उनी क्लब छाड्ने हल्ला चलेको थियो । तर, सोमबार क्लबको मालिक स्टान क्रोएन्केसँगको छलफलपछि प्रशिक्षक वेङ्गर थप दुई वर्ष आर्सनल बस्न तयार भएको बिबिसीले जनाएको छ ।
प्रशिक्षक वेङ्गरसँगको दुई वर्षको थप सम्झौताबारे क्लबले बुधबारमात्र औपचारिक रूपमा घोषणा गर्ने जनाइएको छ । प्रशिक्षक वेङ्गर र आर्सनलबीचको सम्झौता यो सिजनपछि सकिने थियो ।
प्रशिक्षक वेङ्गर पछिल्लो २१ वर्षबाट आर्सनल सम्हाल्दै आएका छन् । सन् १९९६ देखि आर्सनल सम्हाल्दै आएका ६७ वर्षिय वेङ्गरको प्रशिक्षणमा आर्सनलले तीन प्रिमियर लिग उपाधि जितेको छ । वेङ्गरको टोली आर्सनलले यो सिजन एफए कपको उपाधि जित्यो । तर, वेङ्गरको टोली आर्सनल प्रिमियर लिगमा पाँचौ मात्र भयो । जसको कारण आर्सनल च्याम्पियन्स लिगमा छनोट हुन् सकेन ।