उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Saturday May 09, 2026
वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५
काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको स्पष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ।
काठमाडौंमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्र सरकारको साझेदार भएको उल्लेख गर्दै व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन। हल्लाको पछि नपर्नुस्, तपाईँहरू हाम्रो साझेदार हो।”
अर्थमन्त्री वाग्लेले सरकारले अघि सारेको १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने पनि बताउनुभयो।
कार्यक्रममा उहाँले सरकारका पाँच प्रमुख प्राथमिकताबारे पनि जानकारी दिनुभयो। उहाँका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी विस्तार, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत नेपालको सौम्य शक्ति विस्तार रहेको छ।
उहाँले मुलुक अहिले अर्थतन्त्रको “जहाज मोड्ने” अवस्थामा रहेको उल्लेख गर्दै त्यसका लागि आगामी बजेटसम्म धैर्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।
छिमेकी देश भारतको आर्थिक प्रगतिको उदाहरण दिँदै उहाँले राजनीतिक स्थायित्व र इमानदार नेतृत्वबाट आर्थिक रूपान्तरण सम्भव हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको अवस्थासँग मिल्दोजुल्दो थिए। तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ। नेपाल पनि अब त्यही बाटोमा अघि बढ्नुपर्ने बेला भएको छ।”




























