ब्रिटिस काउन्सिलद्वारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ अवधारणापत्र सार्वजनिक
Saturday May 16, 2026
वि.सं.२०८३ जेठ २ शनिवार १३:३५
काठमाडौं । British Council ले विद्यार्थीको भाषिक यथार्थलाई सम्मान गर्ने तथा समावेशी, समानतामूलक र प्रभावकारी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित “भाषाप्रति उत्तरदायी शिक्षा” सम्बन्धी नयाँ विश्वव्यापी अवधारणापत्र सार्वजनिक गरेको छ।
ब्रिटिस काउन्सिलका अनुसार शिक्षा प्रणालीले विद्यार्थीको भाषिक अवस्थालाई केन्द्रमा राखेर काम गर्न सकेमा सिकाइ प्रक्रिया थप समावेशी, प्रभावकारी र सकारात्मक बन्न सक्छ। नयाँ अवधारणापत्रले बहुभाषिक समाजमा शिक्षा नीतिको महत्वलाई जोड दिँदै स्थानीय भाषिक, सामाजिक, आर्थिक र सांस्कृतिक सन्दर्भअनुसार निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको छ।
अवधारणापत्रमा विद्यालय तथा उच्च शिक्षामा अंग्रेजी भाषाको प्रयोगसँगै मातृभाषा र स्थानीय भाषाको सुदृढ आधार आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, शिक्षकको भाषिक दक्षता, गुणस्तरीय शिक्षण सामग्री, मूल्याङ्कन प्रणाली र दीर्घकालीन योजना प्रभावकारी सिकाइका लागि अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरिएको छ।
ब्रिटिस काउन्सिलका अंग्रेजी तथा विद्यालय शिक्षासम्बन्धी निर्देशक Michael Connolly ले भाषा कुनै पनि सिकाइको आधारभूत पक्ष भएको उल्लेख गर्दै विद्यार्थीको भाषिक यथार्थलाई स्वीकार गर्ने शिक्षा प्रणालीले मात्र कक्षाकोठालाई थप समावेशी बनाउन सक्ने बताउनुभयो।
अवधारणापत्र तयार गर्न विभिन्न देशका शिक्षा प्रणालीमा अंग्रेजी भाषाको शिक्षण र सिकाइसम्बन्धी अनुसन्धान तथा विस्तृत अध्ययनको समीक्षा गरिएको थियो। अध्ययनले पर्याप्त तयारीबिनाको अंग्रेजी माध्यम शिक्षाले जोखिम निम्त्याउन सक्ने भएकाले शिक्षक विकास र स्रोत–साधनमा लगानी आवश्यक रहेको देखाएको छ।
ब्रिटिस काउन्सिलले नीति निर्माता, शिक्षा क्षेत्रका सरोकारवाला तथा अन्तर्राष्ट्रिय साझेदारलाई भाषाप्रति उत्तरदायी शिक्षा नीति र अभ्यास लागू गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको जनाएको छ।

























