बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता
Saturday May 16, 2026
वि.सं.२०८३ जेठ २ शनिवार १८:३४
बुटवल।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालका विभिन्न उपचार सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेत तथा बुटवल हस्पिटल प्रा.लि.का महाप्रबन्धक देवेश कर्णले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा अध्यक्ष वस्नेतले उक्त सम्झौताले ईक्यानसँग आबद्ध सदस्यहरूलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। त्यसैगरी महाप्रबन्धक कर्णले उपचारका लागि बुटवल बाहिर जान नपर्ने वातावरण सिर्जना गर्न अस्पताल प्रतिबद्ध रहेको बताए।
सम्झौता कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू राम खड्का र जीडी सिखर धिताल तथा बुटवल हस्पिटलका प्रशासन प्रमुख विक्रम खडका र बजार व्यवस्थापक सुमन तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।




























