‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै
Tuesday May 26, 2026
वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८
काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको वृहत् प्रदर्शनी ‘पिफन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको आयोजकले जनाएको छ । बजारमा विद्युतीय सामग्रीको माग र प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसरहरूको पहिचान तथा व्यावसायिक सम्भावनाको विस्तारमा पनि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबल तथा कन्डक्टर, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शनी गरिने जनाइएको छ ।
प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर हुने आयोजकको भनाइ छ । उपभोक्ताले एउटै स्थानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको अनुभव गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ सम्पन्न भइसकेका छन् । ‘पिफन इलेक्ट्रो–टेक २०२६’ को टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको छ भने पावर बाइ ह्याभेल्स, प्लेटिनम स्पोन्सर जनता केबल इन्डस्ट्रिज रहेका छन् । त्यसैगरी डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रिकल्स रहेका छन् । गोल्ड स्पोन्सरमा ब्रिलियन्ट एलईडी रहेको आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरोकारवाला संस्थाको सहयोग तथा सहभागिता रहने प्रदर्शनीमा उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
























