फर्पिङमा तीन वर्षे ‘लोसुम’ साधना : कर्म ल्हुङतोक ‘सुबास पाख्रिन’ समेतलाई ‘दुर्जेलोपेन’ उपाधि
Wednesday Jun 03, 2026
वि.सं.२०८३ जेठ २० बुधवार ००:११
काठमाडौं । हिमाली बौद्ध बज्रयान परम्पराअन्तर्गत अत्यन्त कठिन, पवित्र एवं उच्च अनुशासित मानिने तीन वर्षे (लोसुम) ध्यान साधना सम्पन्न भएको छ। दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा रहेको परमपूज्य क्याब्जे ज्याड्रल साङ्गे दोर्जे रिन्पोछेको ‘ज्याड्रल रिन्पोछे गुम्बा’ मा यो गहन आध्यात्मिक अनुष्ठान पूर्ण भएको हो। साधना पूरा गरेसँगै साधक कर्म ल्हुङतोक ‘सुबास पाख्रिन’ लगायतले बौद्ध दर्शनको गरिमामय ‘दुर्जेलोपेन’ (लामा) को उपाधि प्राप्त गर्नुभएको छ।

बौद्ध बज्रयान दर्शनमा ‘लोसुम’ लाई आत्मशुद्धि र आध्यात्मिक चेतनाको सर्वोच्च साधना मानिन्छ। यस अन्तर्गत साधकहरूले तीन वर्ष, तीन महिना र तीन दिनसम्म बाहिरी संसारबाट पूर्णतः टाढा रही, कठोर अनुशासन र निरन्तर ध्यानका माध्यमबाट प्रज्ञा एवं करुणाको अभ्यास गर्दछन्। सम्पूर्ण धर्म अभ्यासको मूल लक्ष्य बुद्धत्व प्राप्ति नै रहेको सन्दर्भमा यस कठोर साधनाको सफलतापूर्वक समापन हुनुलाई बौद्ध आध्यात्मिक क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
साधना सम्पन्न गरी ‘दुर्जेलोपेन’ उपाधि ग्रहण गर्नुभएका कर्म ल्हुङतोक (सुबास पाख्रिन) सहितका नवदीक्षित लामाहरूलाई देश तथा विदेशमा रहेका धर्ममित्र, इष्टमित्र, आफन्त तथा शुभेच्छुकहरूले हार्दिक बधाई ज्ञापन गर्दै सुखद आध्यात्मिक यात्राको शुभकामना व्यक्त गरेका छन्।
कठोर त्याग र ध्यानको बलबाट प्राप्त उहाँहरूको यो ज्ञान, प्रज्ञा र आध्यात्मिक ऊर्जाले आगामी दिनमा समस्त प्राणी जगत्को कल्याण, शान्ति र लोकहितमा मार्गदर्शन गर्ने विश्वास धार्मिक अनुरागीहरूले लिएका छन्।






























