नबिल बैंक र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवा सुदृढ गर्न ६ करोडको रणनीतिक साझेदारी
Monday Jun 08, 2026
वि.सं.२०८३ जेठ २५ सोमवार २१:४३
काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा विशेष गरी जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरु यस क्षेत्रमा सहकार्य गर्न अग्रसर भएका हुन् । रणनीतिक साझेदारीअन्तर्गत नबिल बैंकले नेपालभरि जलनका बिरामीहरुको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरुमा पनि यस्तै सुविधाहरु विस्तार गरिनेछ । यसका साथै बैंकले दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरु स्थापना गर्न र डायलासिस सेवाहरुलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैंक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन आयो भन्ने मानक राख्ने गरेको र धुलिखेल अस्पतालसँगको सहकार्यद्वारा सँगै धेरै मानिसहरुको जीवनमा परिवर्तन ल्याउन सकिने बताएका छन् ।
सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैंकको समाजप्रतिको प्रतिबद्धताको रुपमा लिएको र सुरु गरिएको काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै नबिल बैंकसँगको यो साझेदारीले जलन, कृत्रिम अंगसम्बन्धी उपचार र पुनःस्थापनाका साथै डायलासिस सेवामा थप टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । तीन वर्षका लागि गरिएको यो सम्झौताले बिरामीहरूलाई गुणस्तरीय उपचार, कृत्रिम अंग र पुनर्वास सेवा तथा डायलिसिस उपचार सेवा प्रदान गर्ने बैंकको उद्देश्यलाई पुरा गर्नेछ, जुन नेपाल सरकारले देशभरका बिरामीहरुलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको लक्ष्यसँग पनि मेल खान्छ ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरूसँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा निरन्तर सेवाहरू प्रदान गर्दै आएको छ । हालै बैंकले सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो, जसबाट ५०० जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए भने १३० जना बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थाहा भएको छ ।
बैंकले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ, जसबाट हालसम्म ३०० भन्दा बढी लाभग्राहीहरूले निःशुल्क कृत्रिम अंग प्राप्त गरिसकेका छन् । नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा रहेको नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ भने नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा काम गरिरहेको छ ।
























