इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला
Sunday Jun 14, 2026
वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८
काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक २५ जनालाई सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। यसैगरी वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधान अनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी उपाध्यक्षको सङ्ख्या सात पुर्याइएको छ।

महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् भने सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन्। नयाँ संशोधित विधान बमोजिम कृष्ण घिमिरे र दीपक पौडेललाई थप गरेर सचिवको सङ्ख्या पनि सात पुर्याइएको छ। यस्तै कोषाध्यक्षमा शङ्कर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, सङ्गीता धमला र वर्णन लामिछाने चुनिएका छन्। संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुने गरी स्थायी आमन्त्रित सदस्यको रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाभित्र सबैलाई समेटेर सर्वसम्मत रूपमा अघि बढ्न सहमतिका आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्य मनोयन गर्ने सहमति भएको जानकारी दिनुभयो।

इप्पानले यसपटक आफ्नो विधान २०७८ लाई परिमार्जन गर्दै संगठनलाई अझ बढी समावेशी र लोकतान्त्रिक बनाएको छ। संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने पुरानो व्यवस्थालाई खारेज गरी अबदेखि सबै पदहरूमा निर्वाचन गराउने व्यवस्था गरिएको छ, तर अध्यक्ष पदको उम्मेदवार हुनका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहिसकेको हुनुपर्ने प्रावधान राखिएको छ।

विधान संशोधनमार्फत कार्यसमितिमा ५ उपाध्यक्षबाट बढाएर ७, ५ सचिवबाट ७ र ५ जना स्थायी आमन्त्रित सदस्य मनोयन गर्ने व्यवस्था थप गरिएको हो, जुन जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। यसका साथै इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा उठ्नका लागि कुनै पनि राजनीतिक दलमा आबद्ध हुनु नहुने र यदि विगतमा आबद्धता रहेको भएमा सो त्यागेको प्रमाण पेश गर्नुपर्ने कडा व्यवस्था समेत संशोधित विधानमा समेटिएको छ।


























