नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव
Saturday Aug 15, 2026
वि.सं.२०८३ साउन ३० शनिवार ००:१६
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष प्राविधिक जनशक्ति विकासको आवश्यकता बढिरहेका बेला नेपाली अटो मेकानिकहरूले चीनस्थित एसजीएमडब्ल्यू मोटर्सको उत्पादन कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन गरेका छन्।
नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित फुलिङमा रहेको एसजीएमडब्ल्यूको उत्पादन कारखानाको भ्रमण गरेका हुन्। नेपालमा एसजीएमडब्ल्यू तथा वुलिङका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल तथा एसजीएमडब्ल्यूको सहयोगमा साउन २६ र २७ गते कारखाना भ्रमण गरिएको कम्पनीले जनाएको छ।
भ्रमणका क्रममा नेपाली प्राविधिकहरूले सवारीसाधन उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण, परीक्षण प्रणाली तथा विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए। सहभागीहरूले कम्पनीका प्राविधिक विशेषज्ञसँग ईभी उत्पादन, मर्मतसम्भार तथा नयाँ प्रविधिसम्बन्धी विषयमा अन्तरक्रियासमेत गरेका थिए।
भिजी मोटर्सका अनुसार उक्त भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर ईभीको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रण प्रक्रियालाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ।
कम्पनीले सवारीसाधन बिक्रीसँगै ईभी क्षेत्रका लागि आवश्यक प्राविधिक जनशक्ति विकासमा समेत काम गर्दै आएको जनाएको छ। यसका लागि देशका विभिन्न स्थानमा मेकानिक मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक प्रशिक्षण तथा साइटमै पुगेर प्राविधिक समस्या समाधान गर्ने कार्य भइरहेको कम्पनीको भनाइ छ।
भिजी मोटर्सका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ भने अब दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ। दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान र प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्भारसम्मका विषय समेटिनेछ।
यसअघि कम्पनीले नेपाल अटो मेकानिक व्यवसाय महासंघका सदस्यलाई लक्षित गरी ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थियो। चीनको कारखाना भ्रमणले उक्त प्रशिक्षणबाट प्राप्त ज्ञानलाई ईभी उत्पादन र प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीले जनाएको छ।
भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन र मर्मत गर्न सक्ने दक्ष जनशक्ति विकास पनि उत्तिकै आवश्यक रहेको बताए।
उनले भने, ‘मोबिलिटीको भविष्य नयाँ प्रविधि भित्र्याउने विषयमा मात्र सीमित छैन। त्यस प्रविधिलाई सहयोग गर्ने जनशक्ति विकास गर्नु पनि आवश्यक छ। प्राविधिकहरू ईभी इकोसिस्टमको महत्वपूर्ण हिस्सा हुन्।’
नेपालमा ईभीको प्रयोग र बजार विस्तारसँगै विद्युतीय प्रणाली, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक कम्पोनेन्ट, डायग्नोस्टिक्स, सुरक्षा प्रणाली तथा सफ्टवेयरसम्बन्धी ज्ञान भएका दक्ष प्राविधिकको आवश्यकता बढ्दै गएको छ। सही डायग्नोसिस, गुणस्तरीय मर्मतसम्भार र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्ने जनशक्ति विकासले विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ता विश्वाससमेत बलियो बनाउने अपेक्षा गरिएको छ।
भिजी मोटर्सले एसजीएमडब्ल्यू, नेपाल अटो मेकानिक व्यवसाय महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालको अटोमोबाइल क्षेत्रका लागि दक्ष र भविष्यअनुकूल प्राविधिक जनशक्ति विकासमा योगदान गर्ने जनाएको छ।
























