नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी
Saturday Aug 15, 2026
वि.सं.२०८३ साउन ३० शनिवार ००:००
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता आएपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी गरेको छ।
दैनिक औसत २५ हजार तथा मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अनुमान गरेको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सुरुवाती दिनमै देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै बिदाका दिन थप व्यवस्थापन गर्ने तयारी गरेको हो।
विशेषगरी शनिबार र आइतबार अवलोकनकर्ताको संख्या थप बढ्ने अनुमान गर्दै पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको नाइमाले जनाएको छ। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थान तथा नेपाल पुलिस क्लब भवनका दुवै तला खचाखच भएपछि पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो।
‘अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण शनिबार र आइतबारका लागि पार्किङको विशेष व्यवस्था गरेका छौं,’ उनले भने।
एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले एक्स्पो खुल्नुअघि नै गेटमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको बताए। उनका अनुसार एक्स्पो खुल्ने समय बिहान ११ बजे भए पनि बिहान १० बजेदेखि नै अवलोकनकर्ता पुग्न थालेका छन्।
तेस्रो दिनसम्ममा १ लाख ८ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन्। उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार तथा चौथो दिन ३१ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै आफ्ना स्टलमा अवलोकनकर्ता आकर्षित गरिरहेका छन्। मेलामा कारदेखि ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्मका नयाँ मोडल मुख्य आकर्षण बनेका छन्।
दुईपाङ्ग्रे सवारीसाधनका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी महँगा तथा नयाँ प्रविधियुक्त ब्रान्डमा युवाको आकर्षण बढी रहेको आयोजकले जनाएको छ।
अवलोकनकर्ताले सवारी खरिदअघि विभिन्न ब्रान्ड, मोडल, फिचर र मूल्यको तुलना गर्ने अवसर पाएका छन्। उनीहरूले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालूलगायत विषयमा चासो देखाएका छन्।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न मूल्य छुट, एक वर्षको बिमा, सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियतपूर्ण कर्जाजस्ता सुविधा उपलब्ध गराएका छन्। मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।
एक्स्पो अवधिभर ‘नाइमा मोबिलिटी संवाद’ पनि सञ्चालन भइरहेको छ। स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा मोबिलिटी, प्रविधि, दिगो यातायात तथा भविष्यको यातायात प्रणालीसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया भइरहेको आयोजकले जनाएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेका छन्। मेलाको को–स्पोन्सर ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने बैंकिङ पार्टनरमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन्।
मेलामा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।
























