पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
Monday Jun 15, 2026
वि.सं.२०८३ असार १ सोमवार ०७:०५
काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान नेपाल एलुम्नाई नेटवर्क (PNAN) को सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
शिविरमा विशेषगरी पाकिस्तानबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकहरूले स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए। शिविरमार्फत १०० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा थप विशेषज्ञ उपचार आवश्यक देखिएका केही बिरामीहरूलाई उच्चस्तरीय अस्पतालमा रेफर गरिएको आयोजकहरूले बताएका छन्। साथै, आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको थियो।
कार्यक्रममा पाकिस्तान दूतावासले शिविर सफल बनाउन सहयोग पुर्याउने पीएनएएनका चिकित्सकहरू तथा स्थानीय नगरपालिकाप्रति आभार व्यक्त गरेको थियो।
उपप्रमुख सुशिला अधिकारीले नागार्जुन नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनलाई धन्यवाद व्यक्त गरिन्।
त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तान दूतावासले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता पहलहरू निरन्तर रहनुपर्ने धारणा व्यक्त गरे।
स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरबाट नगरवासी लाभान्वित भएका छन्।

























