कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान
Monday Jun 15, 2026
वि.सं.२०८३ असार १ सोमवार २३:०३
काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘बिजनेस मोडल इनोभेसन’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया अर्थात् ‘केवाईसी वर्कफ्लो कम्प्लायन्स’ सम्बन्धी उल्लेख्य प्रगतिको लागि उक्त सम्मान प्रदान गरिएको हो। इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यस अवार्ड कार्यक्रमले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूको उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्दै आएको छ।
यस वर्षको प्रतिस्पर्धामा ५०० भन्दा बढी आवेदनहरू परेका थिए, जसमध्ये कुमारी बैंकले आफ्नो व्यावसायिक कार्यप्रवाह तथा अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै यो प्लेटिनम सम्मान प्राप्त गर्न सफल भएको हो।
बैंकको यस प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामक मापदण्डहरूको कडाइका साथ पालना गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन बैंकले पुर्याएको योगदानको पनि यस अवार्डमार्फत कदर गरिएको छ।
यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहक केन्द्रित बैंकिङ सेवा प्रवाह गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। बैंकले आगामी दिनहरूमा डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वासिलो र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास जारी राख्ने जनाएको छ।

























