पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने
Thursday Jul 02, 2026
वि.सं.२०८३ असार १८ बिहीवार १०:०३
काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४.५ अपडेटमार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनसँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ। जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्नेछन्।
पब्जी मोबाइलको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक मानिएको यस साझेदारीले गेमरहरूलाई पहिलोपटक पब्जी मोबाइलको प्लेटफर्ममा नारुटो शिप्पुडेनको संसारलाई नयाँ, आकर्षक र अन्तरक्रियात्मक ढंगले अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस सहकार्यअन्तर्गत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित विशेष गेमप्ले, चर्चित स्थानहरू तथा पात्रहरूसँग सम्बन्धित विविध इन–गेम अनुभव लिन सक्नेछन्। खेलाडीहरूले हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्यालीजस्ता नारुटो कथाका महत्वपूर्ण स्थानहरूको अनुभव गर्न पाउनेछन्।
यसका साथै, गेमरहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन तथा फ्लाइङ राइजिन जुत्सुजस्ता चर्चित निन्जुत्सु सीपहरू प्रयोग गर्न सक्नेछन्। अपडेटमा नारुटोको कथाको केन्द्रमा रहेको चर्चित पात्र ‘द नाइन टेल्स’ विरुद्ध विशेष ‘बोस फाइट’ खेल्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।
यस सहकार्यअन्तर्गत गेमरहरूले नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारालगायत लोकप्रिय पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेट प्राप्त गर्न सक्नेछन्। साथै, नारुटो शिप्पुडेनसँग सम्बन्धित अन्य थिममा आधारित सामग्रीहरू पनि क्रमशः सार्वजनिक गरिने पब्जी मोबाइलले जनाएको छ।
यस सहकार्यबारे पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङले नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत अन्तरक्रियात्मक मनोरञ्जनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धतामा कम्पनी निरन्तर अघि बढिरहेको बताउनुभयो। उहाँले विश्वभर नारुटोले हासिल गरेको लोकप्रियता र समर्पित फ्यानबेसका कारण यो सहकार्य स्वाभाविक छनोट बनेको उल्लेख गर्दै नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक तथा विस्तृत गेमिङ अनुभवसँग जोडेर खेलाडीहरूका लागि अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र बहुप्रतीक्षित सहकार्यमध्ये एक प्रस्तुत गर्न लागेको बताउनुभयो।
सन् १९९९ मा सुरुआत भएदेखि नारुटो विश्वकै सर्वाधिक लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र मांगा सिरिजमध्ये एकका रूपमा स्थापित हुँदै आएको छ। यस फ्रेन्चाइजले विश्वभर करोडौं दर्शक तथा प्रशंसकलाई आकर्षित गर्दै आएको छ।
पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीचको यस विशेष सहकार्य तथा जुलाई ९ मा सार्वजनिक हुने भर्सन ४.५ सम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ। गेमरहरूले एप स्टोर र गुगल प्ले स्टोरबाट पब्जी मोबाइल निःशुल्क डाउनलोड गरी खेल्न सक्नेछन्।
























