ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक
Wednesday Jul 22, 2026
वि.सं.२०८३ साउन ६ बुधवार १९:३२
काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली (ईएसएस) नेपालमा सार्वजनिक गर्दै स्वच्छ, भरपर्दो तथा दिगो ऊर्जातर्फ नेपालको संक्रमणलाई सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
“सबै परिदृश्यमा ग्रिड–फर्मिङ युगतर्फ अघि बढौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, ह्वावे डिजिटल पावर दक्षिण एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चेस्टर चेन तथा ह्वावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी नयाँ समाधानहरू सार्वजनिक गर्नुभयो।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, ऊर्जा विकासकर्ता, उद्योगी, व्यावसायिक साझेदार तथा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालले नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्दै विद्युत् पूर्वाधारलाई थप सुदृढ बनाइरहेको वर्तमान अवस्थामा ह्वावेका नवीनतम डिजिटल पावर समाधानहरूले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, सौर्य ऊर्जाको प्रभावकारी उपयोग बढाउन तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
फ्युजनसोलार ९.० ह्वावेको अत्याधुनिक ठूला क्षमताको सौर्य ऊर्जा समाधान हो, जसले स्मार्ट डिजिटल प्रविधिलाई सौर्य ऊर्जासँग एकीकृत गरी सञ्चालन दक्षता बढाउने तथा स्वच्छ ऊर्जाको अधिकतम उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
यसैसँगै ह्वावेले लुटेरा युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली (ईएसएस) पनि सार्वजनिक गरेको छ। यो अत्याधुनिक ब्याट्रीमा आधारित ऊर्जा सञ्चय प्रणाली हो, जसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ।
यी दुवै समाधानले संयुक्त रूपमा नेपालको तीव्र रूपमा विस्तार भइरहेको नवीकरणीय ऊर्जा क्षेत्रलाई सशक्त बनाउँदै विद्युत् विकासकर्ता तथा विद्युत् सेवा प्रदायक संस्थाहरूलाई अझ सुरक्षित, प्रभावकारी तथा दिगो ऊर्जा पूर्वाधार निर्माण गर्न सहयोग गर्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भन्नुभयो:
- “विगत २६ वर्षदेखि ह्वावे नेपालका लागि एक विश्वसनीय साझेदारका रूपमा निरन्तर नवप्रवर्तन र स्थानीय सहकार्यमार्फत नेपालको डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको छ। आज नेपालले हरित ऊर्जातर्फको यात्रा तीव्र बनाइरहेको सन्दर्भमा हामी फ्युजनसोलार ९.० र लुटेरा युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरेका छौँ। यी समाधानहरूले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग पुर्याउने विश्वास लिएका छौँ। नेपालप्रति हाम्रो प्रतिबद्धता पहिलेभन्दा अझ बलियो छ, र आगामी २६ वर्ष तथा त्यसपछिसम्म पनि विश्वसनीय प्रविधि र दीर्घकालीन साझेदारीमार्फत नेपालको विकास यात्रामा साथ दिनेछौँ।”
सन् १९९९ देखि नेपालमा कार्यरत ह्वावेले दूरसञ्चार सेवा प्रदायक, विभिन्न उद्योग–व्यवसाय, सरकारी निकाय तथा अन्य साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको डिजिटल तथा दिगो विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत ह्वावेले नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने राष्ट्रिय लक्ष्यलाई सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

ह्वावेबारे
सन् १९८७ मा स्थापना भएको ह्वावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार तथा स्मार्ट उपकरणहरूको विश्वव्यापी अग्रणी प्रदायक हो। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा सेवा विस्तार गरेको ह्वावे प्रत्येक व्यक्ति, घर तथा संस्थासम्म डिजिटल प्रविधिको पहुँच पुर्याउने लक्ष्यका साथ कार्यरत छ।
नेपालमा ह्वावेले विगत २६ वर्षदेखि आफ्ना ग्राहक तथा साझेदारहरूसँग सहकार्य गर्दै नवीन सूचना–सञ्चार प्रविधि तथा डिजिटल पावर समाधानहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालको डिजिटल अर्थतन्त्रको विकास, हरित ऊर्जा प्रवर्द्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्न आवश्यक प्रविधि र नवप्रवर्तनमार्फत निरन्तर योगदान दिँदै आएको छ।























