काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत विवाद समाधानको आवश्यकता औंल्याइयो
Thursday Aug 06, 2026
वि.सं.२०८३ साउन २१ बिहीवार ११:१३
काठमाडौं। नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक तथा रणनीतिक दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पत्रकार, लेखक, विश्लेषक तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको दूतावासले जनाएको छ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक दरका सन्देश वाचन गरिएको थियो। वक्ताहरूले कश्मीर विवादको शान्तिपूर्ण समाधान, क्षेत्रीय स्थायित्व तथा संवादको आवश्यकतामा जोड दिएका थिए।
राष्ट्रपति जरदारीले कश्मीरका जनताप्रति पाकिस्तानको नैतिक, राजनीतिक तथा कूटनीतिक समर्थन निरन्तर रहने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सम्बन्धित प्रस्ताव तथा कश्मीरी जनताको आकांक्षाअनुसार विवाद समाधान हुनुपर्ने धारणा व्यक्त गरेका थिए। उनले दक्षिण एशियामा दिगो शान्ति स्थापना गर्न कश्मीर विवादको शान्तिपूर्ण समाधान अपरिहार्य रहेको बताएका थिए।
प्रधानमन्त्री शहबाज शरीफले जम्मु–कश्मीरलाई आधुनिक इतिहासकै सबैभन्दा लामो समयदेखि समाधान हुन नसकेको अन्तर्राष्ट्रिय विवादमध्ये एक भएको उल्लेख गर्दै सन् १९४८ देखि यो विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कार्यसूचीमा रहेको बताएका थिए। उनले हालैको पहलगाम घटनापछि भारत–पाकिस्तानबीच बढेको तनावले क्षेत्रीय शान्ति र स्थायित्वमा थप चुनौती सिर्जना गरेको दाबी गरे।
उनले भारतलाई मानवअधिकार उल्लंघन रोक्न, सन् २०१९ यताका कदम फिर्ता लिन तथा विवाद समाधानका लागि अनुकूल वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायले सक्रिय भूमिका खेल्नुपर्ने धारणा पनि राखेका थिए।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इशाक दरले भारतले जम्मु–कश्मीरको विवादित अवस्थालाई प्रभावित पार्ने गतिविधि रोक्नुपर्ने बताएका थिए। उनले भारतीय पक्षबाट जारी गरिएको डोमिसाइल प्रमाणपत्र तथा कश्मीरी नेताहरूको लामो हिरासतप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले भारतीय प्रशासित जम्मु–कश्मीरको मानवीय अवस्था, जनसांख्यिक परिवर्तन तथा सञ्चारमाध्यममाथिको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सम्बन्धित प्रस्ताव र कश्मीरी जनताको आकांक्षाअनुसार विवाद समाधान भए मात्रै दक्षिण एशियामा स्थायी शान्ति सम्भव हुने बताए।
अन्तरक्रियाका क्रममा सहभागीहरूले कश्मीरी जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै भारत र पाकिस्तानबीचका विवादहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले दक्षिण एशियामा दिगो शान्ति, स्थायित्व र सहकार्यका लागि संवाद नै प्रभावकारी माध्यम हुने धारणा राखेका थिए।























