भारतले नेपालको जमिन पाँच मिटर मिचेको प्रमाणित
Wednesday Jan 15, 2020
वि.सं.२०७६ माघ १ बुधवार १७:३७

काठमाडौँ, ७६ माघ १। सिरहाको ठाँडीस्थित नेपाल भारत सीमामा बिहानै देखि प्रहरी प्रशासनका जिल्ला नेतृत्व पुगे । त्यहाँ अधिकारकर्मी तथा सञ्चारकर्मीहरु पनि पुगे ।
गत आइतबारको कुरा हो यो ।
दसगजा मिचेर भारतले स्वागतद्धार बनाउन थालेको स्थानीयले रिपोर्ट गरेपछि सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा सरकारी टोली सीमाको स्थलगत निरीक्षणमा पुगेको थियो ।
नेपाल प्रहरीका एसपी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बलका एसपी प्रविण कँडेल, राष्ट्रिय अनुसन्धान कार्यालय सिरहाका एसपी रमेश चन्द्र यादव, अधिकारकर्मी र सञ्चारकर्मीको टोलीको समेतको उपस्थिति रहेको स्थलगत निरिक्षणमा स्थानीयहरुको पनि बाक्लो उपस्थिति थियो ।
‘दुवै देशकोे संयुक्त सीमा सर्वे टोलीले विवाद निरुपण नगरुञ्जेल स्वागतद्धार निर्माणमा रोक लगाउने निर्णयमा पुग्यौँ’– निरीक्षण तथा भारतीय अधिकारीहरुसगँको छलफलपछि सञ्चारकर्मीसँग प्रजिअ अधिकारी भन्दै थिए ।
यस्तैमा मानव अधिकारकर्मी राजकुमार राउत यसो भन्द्र कड्किए– ‘दशगजा मिचेर प्रवेशद्धार बनाउन सुरु गरेको देखियो, भारतको हेपाहा प्रवृत्ति रोकिएन ।’
भारतीय सशस्त्र सीमा बल (एसएसबि) का जवानले स्वागतद्धार निर्माण थालेको फोटो खिच्न सञ्चारकर्मीलाई रोक लगायो ।
नेपालको भुभागतिरबाटै सञ्चारकर्मीको समूहले दसगजा क्षेत्रको निरिक्षण गर्यो, फोटो खिच्यो ।
कतिपय ठाउँमा दशगजा मिचेर भारतीयले घर बनाएर बसोबास गरेको देखियो भने कतै कतै खेती गरिएको देखियो ।
शीतलहरसँगैको वर्षाले दशगजा आसपासको जनजीवन कष्टकर बनेको थियो । आँगन र बाटामा स्थानीयहरु समूह समूहमा आगो तापेर बसेका थिए ।
ठाँडीका सबैजसो चिया पसलहरुमा भिडभाड थियो । सधैँ सेवाग्राहीको भिड लाग्ने ठाँडी भन्सार जाडोकै कारण सुनसान देखिन्थ्यो ।
ठाँडी भन्सार प्रमुख नरेशकुमार शाह चियाको चुस्किसँगै आफ्नो कार्यकक्षमा सञ्चारकर्मीलाई अवगत गराइ रहेका थिए । चालु आर्थिक बर्षमा गत आर्थिक बर्षको तुलनामा दोब्बरले भन्सार कर उठ्न थालेको, चोरी निकासी घटेको उनले बताए ।
सिरहाको दक्षिणी सीमावर्ती नाकाहरु ठाँडी, बडहरी, वरियापटि र माडर नाका व्यस्त देखिन्थ्यो भने जगतपुर, झाँझपटि, गोरगमा, कजरा लगायतका साना नाकाहरुमा भने खासै चहलपहल थिएन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रुपमा चेकपोष्ट खडा गरी कडा चेकजाँच गरिरहेको दृष्य धेरै ठाउँमा देखिन्थ्यो ।
तेश्रो मुलुकबाट नेपालका लागि आयात भएका खाद्य पदार्थहरु छोहडा, मरिच, केराउ लगायतका सामाग्रीहरुको भारतमा उच्च माग भएकाले नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै उक्त सामाग्रीहरुको तस्करी हुन थालेपछि सुरक्षाकर्मीले निगरानी बढाएको जानकारी सञ्चारकर्मीहरुलाई दिइयो ।
तेश्रो मुलुकबाट नेपालमा आयतित खाद्य सामाग्रीहरु भारत लैजाने क्रममा सुरक्षाकर्मीले भारी मात्रामा पक्रन थालेपछि अहिले तस्करहरु निरुत्साहित भएका छन् । र, तस्करी पनि केही मात्रामा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदी भन्छन्– ‘सीमाका ब्यापारीहरुले तेश्रो मुलुकबाट नेपालका लागि आएको खाद्य सामाग्री भारी मात्रामा किनेर स्टोर गर्ने अनि सुरक्षाकर्मीको आँखा छलेर भारत लग्ने गरेको पाइयो ।’
सीमा क्षेत्रका ब्यापारीलाई खपत भन्दा बढि भारत लान रोक तथा खाद्य सामाग्री राख्न रोक लगाएपछि तस्करी घटेको छ ।
भारतसँग जोडिएको सशस्त्र प्रहरी बल सीमा चेकपोष्ट नवराजपुरका इञ्चार्ज प्रहरी निरीक्षक कञ्चन थापाले भने– ‘सीमा क्षेत्रमा चौबिसै घण्टा उच्च निगरानी गरिरहेका छौँ, दशगजा आसपास नेपाल भारतका सुरक्षाकर्मीले सामूहिक रुपमा गस्ती पनि गर्ने गरेका छौँ ।’
सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीका ६ ओटा चेकपोष्ट छन् ।
सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रविण कँडेल सीमा क्षेत्रमा अपराध घटेको दावी गर्दै चालु आर्थिक बर्षको ६ महिनामा सशस्त्र प्रहरीले मात्रै एक करोड रुपैयाँभन्दा धेरै राजस्व बराबरको सामाग्री समातेको बताउँछन् ।
भारतले दश गजा मिचेको प्रमाणित भयो
ठाँडीमा भारतले दशगजा मिचेर स्वागतद्धार बनाउन थालेपछि उत्पन्न विवाद निरुपण गर्न दुबै देशका सीमा सर्वेक्षण टोलीले तीन दिन लगाएर सीमा नापजाँच गर्यो ।
सीमा नापजाँचकै क्रममा एसपी प्रविण कँडेलले भने– ‘नापजाँच सकियो, भारतले दशगजा मिचेर स्वागतद्धार बनाउन लागेको प्रमाणित भयो ।’
नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले नापजाँच पछि भारतले दशगजा मिचेको भन्ने आफूलाई अनौपचारिक रिपोर्ट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताए ।
दशगजा नापजाँचमा सक्रिय नेपाल भारत सीमा सर्वेक्षण टोली नं.२ का प्रमुख उमेश कुमारले दशगजा भित्रको ‘नो म्यान्स ल्याण्ड’ ( नेपाल भारत कसैको पनि नमानिने भूमि ) मा करिव पाँच मिटर भूभाग मिचेर स्वागतद्धार बनाउन लागेको नापजाँचको क्रममा प्रमाणित भएको बताए ।




























