कामना सेवा विकास बैंकले ल्यायो दृष्टिविहीनका लागि “स्वाभिमान बचत खाता” संचालनमा
Sunday Jul 19, 2020
वि.सं.२०७७ साउन ४ आइतवार २१:२२

काठमाडौं – कामना सेवा विकास बैंकले ल्यायो दृष्टिविहीनका लागि “स्वाभिमान बचत खाता” संचालनमा
कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ ।
यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो । यस खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको छ ।
बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले यस खाताको शुभारम्भ गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणा बारे प्रकाश पारेका थिए । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नु परेका समस्या र चुनौतीहरुका बारेमा प्रकाश पारेका थिए ।
यसैगरी नेपाल नेत्रहिन संघका अध्यक्ष नर बहादुर लिम्बुले आफुहरु दृष्टिविहीन भएको कारण राज्यका निकायहरुबाट पाउने विभिन्न सुविधाहरु उपभोग गर्नबाट बञ्चित भएको गुनासो गर्दै कामना सेवा विकास बैंकले इज्जतका साथ हामीलाई आम नागरिक सरह बैंकिङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा संघ तथा आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिएका छन् । साथै, अन्य बैंक ता वित्तीय संस्थहरुले समेत यो महत्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने उनले बताए ।




























