यस्तो छ पोखरामा अङ्ग्रेजी नयाँ वर्ष मनाउने तयारी, सबैलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह
Wednesday Dec 30, 2020
वि.सं.२०७७ पुस १५ बुधवार ०७:२०
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि पोखरा आउन सबैलाई आग्रह गरेको छ । सडक महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रेबानले आन्तरिक पर्यटकलाई अँग्रेजी नयाँ वर्षमा पोखरा घुम्न आउन आह्वान गरेको हो ।
सडक महोत्सव यही पुस १५ गते १ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए । “पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५, १६ र १७ गते हुँदैछ, कार्यक्रमको गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुनेछ ।” उनले भने “२२औँ सडक महोत्सव कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित हुन लागेको छ, हामी पोखरा घुम्न आउन आन्तरिक पर्यटकलाई आह्वान गर्छौँ ।”
रेबानका अध्यक्ष लक्ष्मण बरालले २१ वर्षअघिदेखि मनाइँदै आएको महोत्सवलाई निरन्तरता दिँदै आन्तरिक पर्यटकलाई लक्ष्य गरेर महोत्सव आयोजना गरिएको बताए । बरालका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा एक मञ्चमा गन्धर्व संस्कृति र तीन मञ्चमा गण्डकी प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका वेशभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ । यस पटक महोत्सवमा २० मात्र कक्ष रहनेछन् जसमा ६ वटा स्वास्थ्य सम्बन्धी हुनेछन् । केही कक्षमा स्याङ्जा र आसपासका सुन्तला र प्राङ्गारिक उत्पादन र हस्तकला सामग्री रहनेछन् । त्यसैगरी बीच भलिबल, डुङ्गा दौड प्रतियोगिता र टेनिस प्रतियोगिता गरिनेछ । पोखराका विभिन्न पर्यटकीय गतिविधिको फोटो भिडियो पनि प्रदर्शन गरिनेछ ।
रेबानका सल्लाहकार गणेश भट्टराईले पोखराको ब्राण्ड सडक महोत्सवलाई कोरोना महामारीबीच पनि निरन्तरता दिँदै पोखरा खुला र सुरक्षित भन्ने सन्देश दिनु सकारात्मक भएको बताए । संस्थाका महासचिव वसन्त भट्टराईले प्रवेशद्वारबाट स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइनाका साथै स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई विशेष जोड दिइने बताए । महोत्सवबारे काठमाडौँमा समेत पत्रकार सम्मेलन गरेर पोखरा आउन निम्तो दिइएको जनाइएको छ ।
























