सेन्ट लरेन्स कलेजका व्यवस्थापनले आरोपित शिक्षकलाई वर्खास्त गर्ने निर्णय
Wednesday May 25, 2022
वि.सं.२०७९ जेठ ११ बुधवार १०:००
काठमाडौं । चावहिल स्थित यस सेन्ट लरेन्स कलेजको कक्षा ११ मा अध्ययनरत छात्राहरु उपर दुव्र्यवहार भएको भन्ने सम्बन्धमा २०७९।०२।०६ गते शुक्रवारका दिन कलेज प्रशासनमा अनौपचारिक जानकारी प्राप्त भएको थियो । कलेज प्रशासनको तर्फबाट सो घटनाको सम्बन्धमा खोजी गरी सम्बन्धित पिडित छात्राहरुसंग घटनाको बारे जानकारी लिएका थियौं । तत्पश्चात पिडित छात्राहरु र अभिभावक समेतसंग मिति २०७९।०२।०९ गते सोमबारको दिन घटनाको सम्बन्धमा छलफल गरेका थियौं । सो छलफल लगत्तै सोही दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकलाई वर्खास्त गर्ने निर्णय गरि सकेको छ ।
यसै घटनाका सम्बन्धमा पिडित छात्राहरुको तर्फबाट आजै महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता गराई सक्नु भएको छ । साथै आरोपित व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरी कानूनी कारवाही प्रक्रिया अगाडी बढाई सकेको छ । यस घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरुले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ ।
यस घटनाको सम्बन्धमा कलेज व्यवस्थापन दुःख व्यक्त गर्दछ साथै आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुव्र्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिवद्ध छ । साथै दोषी उपर कडा भन्दा कडा कारवाहीको लागि अनुसन्धान प्रक्रियामा सहयोग गरी दिनु हुन समेत यस कलेजका सम्पुर्ण विद्यार्थी तथा अभिभावकज्यूहरु साथै सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।























