सिरहा पूर्वपश्चिम राजमार्ग गाडी दुर्घटनामा तिनको मृत्यु तीन दर्जनभन्दा बढी घाइते
Friday Nov 23, 2018
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०५:४३

निरंजन साह, जनकपुरधाम । सिरहा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ को कमलापुल नजिक गएराती मिनि ट्रक र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, भने ४ दर्जन यात्री घाइते भएका छन् ।
पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन ।
साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको हो ।
सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नंको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी ४० जना भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताएको हो ।






















