किसानलाई अनुदानको गहुँ बिउ उपलब्ध गराउने
Monday Nov 26, 2018
वि.सं.२०७५ मंसिर १० सोमवार ०६:४४

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकारले यस प्रदेशका किसानलाई गहुँको बिउ मा ४० प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ ।
प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानलाई अनुदानको गहुँ बिउ उपलब्ध गराउन लागेका छन ।
अनुदानको गहुँ बिउ जिल्लाका कृषि ज्ञान केन्द्र कार्यालयहरुले तोकेको स्थानीय बिउ बिजन केन्द्रबाट प्राप्त गर्न सकिने प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले आर्थिकप्लस डटकमसंग कुराकानी गर्दै बताएका छन ।
संघीय सरकारले बिगत २ बर्षदेखि बिउमा अनुदान रोक्का गरेको भएपनि प्रदेश नम्बर दुईका सरकारले कृषि तथा सहकारी मन्त्रालयको प्रयासमा यस बर्षदेखि प्रदेशका किसानलाई अनुदानको गहुँ बिउ पाउने भएको छ ।
कृषि मन्त्री साहले प्रदेश नम्बर दुईका किसानले गहुँ बिउ ६५ रुपैयाँ ५० पैसा तोकिएको दरमा ४० प्रतिशत अनुदानको पाउने बताएको हो ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले जिल्लाको विभिन्न ठाउँमा स्थानीय बिक्री केन्द्र छनौटको प्रक्रियामा रहेको बताउँदै सम्भवत सोमबारबाट अनुदानको गहुँ बिउ बिक्री वितरण सुरु गरिने बताएका छन ।






















