जनकपुर समृद्ध बनाउने मन्त्री साहको यस्तो सूत्र
Tuesday Nov 27, 2018
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०४:४१

जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कृषिमा व्यवसायीकरण तथा यान्त्रिकीकरण र एकीकृत खेतीमा जोड दिएर प्रदेश समृद्ध बन्ने बताएका छन् । कृषि ज्ञान केन्द्र धनुषाद्वारा जनकपुरधाममा आयोजितअन्तरक्रिया कार्यक्रममास्थानीय निकायले एकीकृत खेती योजना ल्याए प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए ।
किसानका लागि सिँचाइ व्यवस्थापन र बीउ तथा मलखादको सहज उपलब्धता नभएको समस्या रहेको भन्दै मन्त्री साहले ती जम्मै समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपाय गरिने उल्लेख गरे ।
प्रदेश २ कृषिका लागि उर्वर भूमि भएपनि संघीय सरकार र केही कर्मचारीको बदनियतका कारण यहाँका किसानले पर्यात मलखाद पाउन नसकेको उनले सुनाए ।अहिले मलखादको व्यवस्थापन संघीय सरकारले नै गरिरहेकाले यसको उपलब्धता जटिल बनेको उनको आरोप थियो ।
मन्त्री साहले किसानका लागिप्रदेश सरकारसँग अनुदानका धेरै कार्यक्रम भएको जानकारी दिँदै मन्त्री साहले युवा लक्षित माछा, गाई र कुखरा पालनसँग सम्बन्धित कार्यक्रम ल्याउन स्थानीय तहका प्रतिनिधहरूसँग आग्रह गरे ।
कार्यक्रममा सहभागी नगरपालिका र गाउँपालिका प्रमुखहरूले किसानले भोग्दै आएका मलखाद, सिँचाइ र बीउको समस्यालाई निराकरण गर्न प्रदेश सरकारले ठोस योजना ल्याउनुपर्र्ने बताए । उनीहरूले अहिले पनि किसानहरू आकाशे खेती गर्न बाध्य भइरहेकाले सिँचाइ व्यवस्थापन हुनुपर्ने र मलखाद तथा बीउबिजनको सहज आपूर्ति गरिनुपर्ने माग गरे । उनीहरूले किसानका आधारभूत समस्या समाधान भए दोब्बर अन्नबाली उत्पादन हुने पनि बताए ।
कार्यक्रममा धनुषाका नगरपालिका र गाउँपालिकाका प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्ला पशु सेवाका कर्मचारी र कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहलगायतको सहभागिता रहेको थियो ।






















