बिजुलीको पोलमा केपी ओलीको तस्बिर टास्न मात्र ७० लाख खर्च,धर्म परिवर्तन गराउने सस्थालाई किन दिए ५५ लाख?
Thursday Nov 29, 2018
वि.सं.२०७५ मंसिर १३ बिहीवार १२:२३

सोमबार काठमाडौं सहरका बिजुलीका पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरहरू टाँसिए। त्यस्ता तस्बिरको छेउतिर लेखिएको थियो-नयाँ युगको सुरूआत।
मंगलबार बिहान प्रमुख राष्ट्रिय दैनिकहरूमा त्यही व्यहोराको विज्ञापन छापियो।
त्यहीदिन राजधानीको कमलादीमा ठूलो कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू भएको घोषणा गरे। ‘यो नयाँ युगको सुरूआत हो,’ प्रधानमन्त्रीले भने।
करिब ३५ लाख श्रमिकको हितमा रहेको कार्यक्रम ल्याउनु राम्रो भए पनि किन यत्रो तामझाम गरेको भनेर आलोचना भयो।
प्रधानमन्त्री ओलीले ‘सरकार देखिनँ, कहाँ छ’ भन्नेहरूलाई देखाउन तामझाम गरिएको जवाफ दिए।
आलोचनाको अर्को पक्ष थियो- पोस्टर टाँस्न, पत्रिकामा ज्याकेट र अनलाइन रोड ब्लक विज्ञापनमा करोडौं रूपैयाँ खर्च किन गरेको?
सरकारले भने सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ, प्रचारप्रसार र कार्यक्रम व्यवस्थापनमा ६७ लाख २३ हजार ७ सय ५० रूपैयाँ खर्च भएको जनाएको छ।
बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मंसिर १० गतेको मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई उक्त रकम सामाजिक सुरक्षा कोषलाई निकासा दिन अनुमति दिइएको बताए।
‘खर्च यत्ति नै भएको हो, करोडौं होइन,’ बाँस्कोटाले भने। तर नेपाल सरकारका एक सचिबले १० करोड खर्च भएको बताएका छन्।
उनले पोष्टरमा प्रधानमन्त्री ओली र श्रम मन्त्री गोकर्ण बिष्टको तस्बिर राखिएको कुराको बचाउ गरे।
‘कोकले त ब्रान्डिङ गर्छ सरकारले प्रधानमन्त्रीको फोटो राखेर आफ्नो ब्रान्डिङ गर्न नपाउनु?’ बाँस्कोटाले भने।
उनले एक गैरसरकारी संस्थाले आयोजना गरेको एसिया प्यासेफिक समिटमा सरकारले ५५ लाख रूपैयाँ खर्च गर्न लागेको बताए।





















