सूकीको स्कर्टिङमा रहेको मोटरसाइकल दुर्घटना, एक प्रहरी गम्भीर
Friday Nov 30, 2018
वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०५:१७

काठमाडौँः म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सूकीको कारगेटको स्कर्टिङमा रहेको नेपाल प्रहरीको एउटा मोटरसाइकल गयराति राजधानीको त्रिपुरेश्वरमा दुर्घटनाग्रस्त भएको छ ।
एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी सूकीको कारगेट स्कर्टिङका क्रममा रहेको नेपाल प्रहरीको मोटरसाइकल त्रिपुरेश्वर चोकमा यात्रुबाहक निलो माइक्रो बससँग ठोक्किँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।
स्कर्टिङका क्रममा तीब्र गतिमा रहेको मोटरसाइकल निलो माइक्रोसँग ठोक्किएर सडकमा पल्टिँदा त्यसमा सवार प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरूङ गम्भीर घाइते भएका छन् ।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले अन्नपूर्ण अनलाइनलार्इ जानकारी दिए ।
सुवेदीका अनुसार गुरूङको हात र खुट्टा गहिरो चोट लागेको छ । उपचार जारी रहे पनि गुरूङ अझै खतरा भन्दा बाहिर आइनसकेको सुवेदीले जानकारी दिए । उनको अवस्था अहिले पनि उस्तै छ, उपचार जारी छ सुवेदीले भने ।





















