आगामी तीन वर्षमा औलो निवारण गर्ने सरकारी लक्ष्य पुरा होला ?
Tuesday Apr 25, 2023
वि.सं.२०८० वैशाख १२ मंगलवार १९:५६
काठमाडौं । आज विश्व औलो दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ यो दिवस मनाइए पनि नेपालले औलो निवारणका लागि राखेको लक्ष्य भने पुरा गर्न चुनौति देखिएको छ ।
सन् २०२५ भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य निकै चुनौतीपूर्ण देखिएको यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।
उनीहरुको भनाई छ ‘औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य आगामी तीन वर्षमा पुरा हुने सम्भावना एक दमै कम छ ¬। ’
आयातित बिरामी कै कारण औलो निवारण चुनौतिपूर्ण भएको उनीहरुको भनाई छ ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सन् २०२२ मा विभिन्न्न नाकामा गरी करिब ५० हजार जनाको औलोको स्क्रिनिङ गरिएको जानकारी दिए । जसमध्ये १० जनामा मात्र औलो पुष्टि भएको उनको भनाई छ ।
आयातित बिरामी सबैभन्दा ठूलो चुनौती बनेको बताएका उनले भने ‘सन् २०२५ सम्ममा जसरी पनि स्थानीय औलेको बिरामी शून्यमा झार्छौ। तर आयातित बिरामीको समस्या चुनौतीपूर्ण छ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको पछिल्लो पाँच वर्षको तथ्यांकले गत पाँच वर्षमा स्थानीय औलोको बिरामी घट्दै गएपनि आयातीय बिरामीको संख्या घट्न नसकेको देखाएको छ ।
आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ।
२०७४÷७५ मा १ हजार १८७ जना औलोका बिरामी थिए। जसमध्ये ६३० आयातीत बिरामी हुन्। आर्थिक वर्ष ७५÷७६ मा ४४० स्थानीय र ६२५ आयातीत, ७६÷७७ मा १०२ स्थानीय र ५१७ आयातीत, ७८÷७९ मा ३८ स्थानीय र ४५३ आयातीत बिरामी रहेको महाशाखाको तथ्यांक छ ।
सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए। सबैभन्दा धेरै महाराष्ट्रबाट २२४, गुजरातबााट १०८, उत्तर प्रदेशबाट १५, पश्चिम बंगालाबाट १४, दिल्ली र बिहारबाट १२–१२ जना बिरामी आयातित थिए।
औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो। सन् २०२१ मा १ जनाको मृत्यु भयो। त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु नभएको महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख दाहालले बताए।
नेपालमा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबैभन्दा धेरै भेटिएका छन् ।
लुम्बिनी प्रदेशमा १३९, सुदूरपश्चिममा १०३, मधेशमा ४३, कर्णालीमा ३०, बागमतीमा २७, गण्डकीमा १९ र कोशी प्रदेशमा १२ जना भेटिएको महाशाखाको तथ्याङ्क छ ।
पछिल्लो समय उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा समेत औलोको बिरामी देखिन थालेको भन्दै महाशाखाले यसले झनै औलो निवारणमा चुनौति थपिएको जनाएको छ ।
























