छात्राका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ वितरण गर्न एक अर्व ४२ करोड बजेट
Tuesday May 30, 2023
वि.सं.२०८० जेठ १६ मंगलवार १०:१६
काठमाडौं । सरकारले विद्यालयस्तरका छात्राहरुका निम्ति वितरण हुँदै आएको ‘निशुल्क स्यानिटरी प्याड’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि सरकारले एक अर्व ४२ करोड बजेट बिनियोजन गरेको छ ।
यस कार्यक्रमबाट मुलुकभरका १० लाख छात्रा लाभान्वित हुने सरकारको दाबी छ । त्यस्तै, सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको छ ।
यसका लागि सरकारले आठ अर्व ४५ करोड बजेट बिनियोजन गरेको छ । दिवा खाजामा ‘जंक फुड’लाई भने प्रतिवन्ध लगाइएको छ । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार पौष्टिक आहार उपलब्ध गराईने भनिएको छ । यसका कार्यक्रमबाट मुलुकभरका ३२ लाख विद्यार्थी लाभान्विते हुने सरकारको दाबी छ ।
सरकारले विपन्न वर्ग, दलित, सीमान्तकृत समुदायका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रावृतिलाई पनि निरन्तरता दिएको छ ।
यसका लागि सरकारले ३ अर्व २ करोड रुपैयाँ बिनियोजन गरेको छ । यसबाट २६ लाख विद्यार्थी लाभान्वित हुने सरकारको अनुमान छ । त्योसँगै मुसहर, डोम र चमार विद्यार्थीहरुलाई चिकित्सातर्फको उच्च शिक्षामा प्रदान गरिँदै आएको छात्रावृतिलाई पनि निरन्तरता दिइएको छ ।
शैक्षिक सत्र शुरु हुन अघि नै विद्यार्थीको हातमा निशुल्क पुस्तक पु¥याउन ३ अर्व ५८ करोड बजेट बिनियोजन भएको छ । यसक्रममा विद्यार्थीलाई विद्युतीय कपि पनि उपलब्ध गराईनेछ ।
त्यस्तै, औपचारिक शिक्षा प्रणालीमा आवद्ध नभएका गुरुकुल, मदरसा र गुम्वा लगायतका परम्परागत शिक्षालाई औपचारिक शिक्षा प्रणाली जोड्ने सरकारले तयारी गरेको छ । त्यस बाहेक संकेतिक भाषा र ब्रेल लिपिको पठ्यापुस्तक पनि निःशुल्क उपलब्ध गराईनेछ ।
दरवन्दी नभएका माध्यामिक तथा आधारभूत विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको व्यवस्था गर्न ३ अर्व ६९ करोड बिनियोजन गरेको छ ।























