वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति
Friday Jan 04, 2019
वि.सं.२०७५ पुस २० शुक्रवार ०३:१७

काठमाडौं पौष २० । नेपाल एयरलाइन्सको वाइडबडीमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारले तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा अन्र्तगतको उपसमितिको बहालवाला पर्यटनमन्त्रीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको हो। निगमको वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको उपसमितिले निष्कर्ष निकालेको थियो।
उपसमितिको प्रतिवेदन अस्वीकार गरेको सरकारले बिहीबार पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय छुट्टै छानबिन समिति बनाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
‘जांचबुझ आयोग ऐनको दफा ३९२० अनुसार नेपाल एयरलाईन्सको खरिद गरिएका दुईवटा वाइडबडी एयरवस विमान ३३०–२०० का विषयमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँभबुझ गरि नेपाल सरकार समक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रीपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ,’ प्रवक्ता बाँस्कोटाले भने।
आयोगका सदस्यमा पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्र प्रसाद पाठक र चाटर एकाण्टेट मदन शर्मा छन्। संयोजक पराजुलीले २०६५ सालमा सेवाबाट अवकाश पाएका थिए।
























