देशका चारवटा महानगरपालिकामा यस्तो छ पछिल्लो मतपरिणाम
Monday May 15, 2017
वि.सं.२०७४ जेठ १ सोमवार १८:०५
१ जेठ, काठमाण्डौँ-
पहिलो चरणको स्थानीय निर्वाचनको प्राराम्भिक परिणाम आउँदा देशका चारवटै महानगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको काठमाडौँ र ललितपुरमा अग्रता बढाउँदै लगेको छ । अर्कातिर माओवादी–कांग्रेसको तालमेल भएका चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा पनि एमालेका उम्मेदवार अगाडि रहेका छन् । यी चारवटै महानगरमध्ये काठमाडौँ, ललितपुर र पोखरामा कांग्रेसका उम्मेदवारले दोस्रो नम्बरमा पछ्याइरहेका छन् । भरतपुरमा भने माओवादी केन्द्रकी उम्मेदवार दोस्रो नम्बरमा छिन् । सबैभन्दा चर्चाको केन्द्र चितवनको भरतपुर महानगरमा अपरान्ह साढे ४ बजेबाट मतगणना सुरु भएको थियो । यहाँ ३ सय मत गणना भइसक्दा नेकपा एमालेका देवी ज्ञवालीले १५२ मत ल्याउन सफल भएका छन् । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालले ११० मत ल्याउन सफल भएकी छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बद्री तिमल्सिना केबल ७ मतमा सीमित भएका छन् ।
उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । यहाँ एमालेकी दिव्यशर्मा आचार्यले १३३ मत ल्याउँदा कांग्रेसकी पार्वती शाहले १२४ र राप्रपाकी रिना गुरुङले ६ मत ल्याएकी छन् । भरतपुरमा वडा नम्बर एकबाट मतगणना थालिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता राजधानी सहर काठमाडौँ महानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । यहाँ एमालेका विद्यासुन्दर शाक्य ६६ मतसहित अग्रस्थानमा छन् भने ५७ मतसहित साझा पार्टीका किशोर थापा दोस्रो नम्बरमा छन् ।
नेपाली कांग्रेसका राजुराज शाक्यले ४६ मत ल्याउँदा विशेकशील नेपालीकी रञ्जु न्यौपानेले ३७ मत ल्याइन् । नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले केबल ७ मत ल्याएका छन् ।
उपमेयरमा साझा पार्टीकी निरुपमा यादवले ४७ मत ल्याउँदा एमालेसँग तालमेल गरेको राप्रपाले ३६ मत ल्याएको छ ।
उता कास्कीको लेखनाथ पोखरा महानगरपालिकामा पनि कांग्रेस–माओवादी गठबन्धन पछि परेको छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी ६६० मतसहित अग्रस्थानमा छन् ।
त्यसैगरी कांग्रेस–माओवादीका साझा उम्मेदवार रामजी कुवँरले ४१८ मत ल्याउन सफल भएका छन् ।
त्यसैगरी उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । त्यहाँ एमालेका उम्मेदवारले ६४८ मत ल्याएका छन् भने कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले ४२६ मत ल्याएका छन् ।
यता ललितपुरमा पनि एमालेले अग्रता बढाउँदै लगेको छ । त्यहाँ एमालेका हरिकृष्ण ब्यन्जनकारले १८९२ मत ल्याउँदा उनलाई पछ्याइरहेका कांग्रेसका चिरीबाबु महर्जनले १७७१ मत ल्याएका छन् ।
ललितपुरमै माओवादीका दिनेश महर्जनले ७७३ मत ल्याएका छन् भने नयाँशक्तिका मदन महर्जनले २८ र साझा पार्टीका रमेश महर्जनले १३६ मत ल्याएका छन् ।