दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनांउन सरोकारवाला सँग छलफल गर्दै आयोग
Saturday May 20, 2017
वि.सं.२०७४ जेठ ६ शनिवार १५:१२
५ जेठ काठमाडौं- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।
पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती देखिएपछि आयोगले दोस्रो चरणमा त्यस्ता घटना नदोहोरियोस् भनी आयोगले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको हो ।
स्थानीय तह निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिको आज निर्वाचन आयोगमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न निर्देशन होस् भन्नाका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न लागिएको जानकारी दिए ।
आयुक्त शाहले भने ‘आयोग दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक र साम्प्रदायिक सद्भाव नखल्बलियोस्, यसले अप्रिय वातावरण सिर्जना नहोस् भन्ने चाहन्छ ।’
निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था हुँदाहुँदै पनि पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको द्वन्द्व र मुठभेडले दोलखालगायतका जिल्लामा अनपेक्षित रुपमा घटना भएपछि आयोगले थप सजगता अपनाउन राजनीतिक दललाई आग्रह गर्ने पनि भएको छ ।
जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलबीचमा निरन्तर सम्पर्क, सहयोग र समन्वयको वातावरण सिर्जना गर्न राजनीतिक दलहरुको जिल्लास्तरीय संयन्त्रलाई अझ बढी सक्रिय र प्रभावकारी तुल्याउन आवश्यक भएको आयोगको ठहर छ ।
पहिलो चरणको निर्वाचनमा देखिएका सवल पक्ष र एकाध ठाउँमा भएका कमी कमजोरीको समग्र मूल्याङ्कन र विश्लेषण गर्दै बैठकले पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्था गरेकोमा सरकार र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले दोस्रो चरणको निर्वाचनमा पनि सुरक्षा निकायबीचको सहकार्य र समन्वय अझ प्रगाढ हुने विश्वास लिएको छ ।
बैठकले पहिलो चरणको निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको समीक्षा र मूल्याङ्कन गर्दै दोस्रो चरणको निर्वाचनको जोखिम र सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरेको आयुक्त शाहले बताए ।
बैठकमा गृहमन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीतिगत परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।