राजपा नेपाल देउवा सरकारमा सहभागी नहुने

Thursday May 25, 2017
वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:०३

११ जेठ, काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने भनिएको नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । विहिबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।
मधेशको माग सम्बोधन नभई सरकारमा जाने विषयमा सोच्न समेत नसकिने निष्कर्ष निकालिएको पार्टीका नेता अनिल झाले जानकारी दिए ।
राष्ट्रिय जनता पार्टीले मधेशको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको नेता झाले बताए ।
अनिल झा लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दावी गर्दैै आएका छन् । यता, महन्त ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले स्थानीय तहको निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।
एक, दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।