प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म

Monday Jul 03, 2017
वि.सं.२०७४ असार १९ सोमवार ०९:१२

गोपाल शर्मा / १९ असार, दाङ- शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित कमानसिंह डाँगी प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म बन्नु भएको छ । २०२७ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहेका डाँगी नेपाली काग्रेसको तर्फबाट शान्तिनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले प्रधानपञ्चदेखि अहिलेसम्म जित्दै आउनु भएको छ ।
उहाँको विरोधमा कांग्रेसबाटै बागी उम्मेदवारी समेत परेको थियो । डाँगी २०४४ सालको प्रधानपञ्चको निर्वाचनमा जिल्लामै बुहदलवादीको तर्फबाट चुनावमा गएका डाँगी बाघमारे गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनु भएको थियो । २ वर्ष प्रधानपञ्च भएर गाउँ चलाएका डाँगी २०४६ सालको बहुदल स्थापनार्थ भएको जन आन्दोलनमा सक्रिय हुदैँ प्रधानपञ्च छा्डनु भएको थियो । त्यस पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बाघमारे गाविस अध्यक्ष निर्वाचित हुनु भएको थियो ।
त्यसै गरी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष अर्कोलाई जिम्मा दिएर जिल्ला विकास समितिमा सदस्यको रुपमा निर्वाचित हुनु भएको थियो । २०५९सम्म जनप्रतिनिधि भएका डाँगी २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा साविकका बाघमारे, धनौरी र शान्तिनगर गरी तीन गाविस मिलेर बनेको शान्तिनगर गाउँपालिकाको पुनःअध्यक्षमा निर्वाचित हुनु भएको हो ।
निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै एक हजार मत बढस् ल्याएर डाँगी तेस्रो पटक अध्यक्ष बन्नु भएको हो । दुई कार्यकाल गाविस अध्यक्ष निर्वाचित डाँगी तेस्रो पटक गाउँपालिकाको अध्यक्षमा चुनिनु भएको छ । स्थानीय स्तरमा लोकप्रिय मानिने डाँगी यस पटक आफ्नो इच्छा नहुँदा नहँुदै पनि जनताको आग्रहले चुनाव लडेको बताउनु भयो । २०१० सालमा जन्मिएका डाँगी राजनीतिमा पुराना नेताका रुपमा स्थापित हुनुहुन्छ । विभिन्न समयमा जेल नेल सामना गरेका डाँगी केहि समय शिक्षण पेशा समेत गर्नुभएको थियो । शिक्षक छोडेर उहाँ प्रधानपञ्च बन्नु भएको थियो ।
अध्यक्ष डाँगी दाङमा काग्रेसका प्रभावशाली नेता खुमबहादुर खडका, बलदेव शर्मा मजगैँया लगायतका नेताका सहकर्मी हुनुहुन्छ । डाँगी गाउँको राजनीतिमा क्रियाशील हुनु भयो भने खड्का केन्द्रीय राजनीतिमा सक्रिय हुनु भयो । गाउँपालिका अध्यक्ष निर्वाचित डाँगी भन्नु हुन्छ,‘मलाई गाउँका जनताले बाहिर जान दिएनन्, मेरा सहकमी प्रभावशाली नेतादेखि मन्त्रीसम्म भइसक्नु भएको छ । म त गाउँकै सेवामा तल्लिन छु ।’ अध्यक्षमा निर्वाचित भएका डाँगीले गाउँपालिकालाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि सारेको बताउनु भयो । उहाँले विगतमा गर्न नसकेका काम पूरा गर्ने र जनताको सुझावमा काम गर्ने बताउनु भयो ।