सफा सुन्दर र सुरक्षित नेपालगञ्ज बनाउनमा होटेल व्यवसायीले साथ दिने

Saturday Jul 15, 2017
वि.सं.२०७४ असार ३१ शनिवार ०६:२७

३१ असार, बाँके – नेपालगन्जलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानमा होटेल व्यवसायीले साथ दिने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत तथा बधाई कार्यक्रममा नेपालगन्जका होटेल व्यवसायीले नेपालगन्जलाई सफा, सुन्दर र सुरक्षित बनाउन उपमहानगरपालिकाले थाल्ने सम्पूर्ण अभियान र कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
स्वागत तथा बधाई कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले अबदेखि नेपालगन्जका होटेल व्यवसायीलाई कसैले दुःख दिन नपाउने बताए । होटेल व्यवसायीको कुनै गल्ती नहुँदासमेत अनाहकमा प्रहरी, प्रशासनले दुःख दिने गरेको औँल्याउँदै उनले आफ्नो सुरक्षाका लागि होटेल व्यवसायी आफैँ पनि सजग हुनुपर्ने बताए ।
उनले व्यवसाय दर्ता गरेर मात्र होटेल सञ्चालन गर्न र राज्यलाई कर तिर्न सुझाब दिए । सरसफाइमा ध्यान दिन आग्रह गर्दै उनले होटेलमा उत्पादन भएको फोहोरलाई व्यवस्थित गर्न आग्रह गरे । ‘नगरलाई सफा, सुन्दर, हराभरा र सुरक्षित बनाउने दायित्व होटेल व्यवसायीको पनि हो,’ उनले भने ।
सेकुवाको धुवाँले सहर दुर्गन्धित बनाइरहेको उल्लेख गर्दै उनले धुवाँले मासु खाने र नखाने दुवैलाई असर गरिरहेकोले सडकछेउमा सेकुवा नपोल्न सुझाब दिए । ‘भारतबाट आएका धेरैजसो पर्यटक मासु नखाने हुन्छन्, सेकुवाको धुवाँले खानेलाई त आकर्षित गर्ला, तर नखानेलाई यसले नकारात्मक असर पार्छ, यसले नगरको सौन्दर्य र गरिमामा ठेस पुगेको छ,’ मेयर राणाले भने ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले होटेलबाट निस्केको फोहोर व्यवस्थापन गरिदिए नेपालगन्जलाई सफा र सुन्दर बनाउन मद्दत पुग्ने बताइन् । उनले नेपालगन्जलाई सफा, सुन्दर र हराभरा बनाउन सकिए पर्यटन प्रवद्र्धन हुने बताइन् । ‘हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्ज बनाउने अभियानमा होटेल व्यवसायीको साथ चाहिएको छ,’ उनले भनिन् ।
होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले नेपालगन्जको विकासमा उपमहानगरपालिकाले गर्ने हरेक गतिविधिमा संघले साथ दिने बताए । उनले सफा, सुग्घर, हराभरा बनाउने अभियानमा साथ दिने बताए ।