आणविक हतियार विश्वकै लागि घातक, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ स्प्रधानमन्त्री ओली

Tuesday Aug 07, 2018
वि.सं.२०७५ साउन २२ मंगलवार ०७:५३
प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका छन् ।
७३ औँ हिरोसिमा स्मृति दिवशको अवसरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधामन्त्री ओलीले कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा नरहेको भन्दै आणविक हतियार विश्वकै लागि घातक रहेको बताएका हुन् ।
कार्यक्रममा उनले भने, “आणविक हतियार विश्वकै घातक छ, कुनै पनि देशका जनता आणविक हतियारको पक्षमा छैनन्, यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।”
आणविक हतियारको दुरुपयोग भए विश्वकै लागि घातक हुने उनको भनाइ थियो । “यो तयार गरेपछि प्रयोग गर्ने कौतुहलता कसैको दिमागमा होला, सनक चढेर दुरुपयोग भएमा विश्व नै सखाप हुनेछ ।” प्रधानमन्त्री ओलीले भने ।
साथै उनले प्रत्येक नेपालीले शान्ति अभियानमा लाग्नु पर्ने बताए । आफू सदा मानव जातिको हितमा लाग्ने बताउँदै उनले भने, “मेरा लागि देश र जनता सर्वोपरी हुन्, देश र जनताको हितमा निष्ठापूर्वक काम गर्छु ।”