बिमस्टेकमा मोदीको प्रस्ताव : छात्रवृत्तिदेखि महिला सञ्जालसम्म

Thursday Aug 30, 2018
वि.सं.२०७५ भदौ १४ बिहीवार १४:३२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।
काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे ।
शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै केही गर्न नसक्ने भन्दै मोदीले सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिए । खास गरी व्यापार, यातायात, जनता-जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।
दुई दिने सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारे । उनले बिमस्टेक क्षेत्रका देशका विद्यार्थीका लागि नालन्दा लगायतका विश्वविद्यालयमा छात्रवृत्तिको अफर गरेका हुन ।
सम्मेलनमा मोदीले भारत बिमस्टेक स्टार्टअप, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, बिमस्टेक डिजिटल मल्टिनेसनल सम्मेलन गर्न लागेको उल्लेख गरे ।