चन्द्रागिरिमा चिनियाँ विदेश मन्त्रीको भ्रमण
Monday Sep 09, 2019
वि.सं.२०७६ भदौ २३ सोमवार ११:०५

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले चन्द्रागिरिको भ्रमण गरेका छन्।
सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरि पुगेका यीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका छन्।
‘केबुलकारबाट माथि पुगेपछि पैदल यात्रा गरी उहाँ घुम्नुभयो’ चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने।

चन्द्रागिरीले नेपालको भौतिक विकासमा गतिलो उदाहरण दिएको बताउँदै यीले अन्य क्षेत्रमा पनि उपयुक्त पूर्वाधार बनाएर नेपालले पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा राखे।
आइतबार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री यीले आजदेखि औपचारिक भेटवार्ता सुरू गर्दैछन्।
अहिले केहीबेरमा यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्ने दुई प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुँदैछ।
यो वार्ता दुई/चार वटा महत्वपूर्ण कुरामा केन्द्रित हुने र विशेषगरी नेपाल-चीनबीच आर्थिक तथा विकास साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बढी केन्द्रित हुने बताइएको छ।
परराष्ट्र मन्त्री ज्ञवालीले भेटका क्रममा मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र चीन-नेपाल रेलमार्गको विगतमा गरेको सहमतिको कार्यान्वयनका पक्षमा पनि छलफल हुने बताए।
‘हामीले विगतमा धेरै सहमतिमा हस्ताक्षर गरेका छौं। ट्रान्जिट ट्रान्स्पोर्ट प्रोटोकलमा पनि हस्ताक्षर गरेका छौं,’ उनले भने, ‘यी सबैको कार्यान्वयनको पक्ष पनि हाम्रो छलफलको विषय हुनेछ।’
नेपालले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वको भ्रमणको प्रतिक्षा गरिरहेको ज्ञवालीले बताए।
बलियो राजनीतिक स्थायित्व हासिल गर्दै सङ्क्रमणकाल टुंग्याएर आर्थिक विकासको बाटोमा अगाडि बढेको नेपालका लागि यो छलफलको समय उपयुक्त रहेको उनले दाबी गरे।
‘चिनियाँ उच्च राजनीतिक नेतृत्वको भ्रमणको लागि यो उपयुक्त समय हो,’ उनले भने, ‘आर्थिक विकासको बाटोमा अगाडि बढ्न लागेको समयमा चीन जस्तो एउटा घनिष्ट मित्रबाट त्याहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रो लागी उत्साहको विषय हुनेछ।’
नेपालको चासोका बारेमा चीन जानकार भएको बताउदै उपयुक्त समयमा चीनको तर्फबाट उच्चस्तरीय भ्रमण हुने आश्वासन चीनले पहिला नै दिएको समेत उनले बताए।
‘उच्चस्तरीय भ्रमण हुने आश्वासन चीनले पहिल्यै दिएको थियो। तर समय सिमा तय भइसकेको थिएन’, उनले भने।
यीले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दैछन्।

























