२ लाखभन्दा बढीको भुक्तानी गर्न चेक नचाहिने राष्ट्र बैंकले ल्यायो यस्तो सिस्टम
Monday Sep 09, 2019
वि.सं.२०७६ भदौ २३ सोमवार १२:३०

काठमाडौं । आरटिजिएस सिस्टम लागू भएसँगै अब २ लाख रुपैयाँभन्दा बढीको भूक्तानी गर्न चेक नचाहिने भएको छ। हाललाई २ लाख रुपैयाँ सम्मको कारोबारलाई चेकबाट बारोवार गर्न स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य आरटिजिएस सिस्टम मार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ अहिलेको प्रकृयामा एकाउन्ट पेयी चेकको रकम भुक्तानी भई बाहकको खातामा जम्मा हुन एक दिन लाग्ने गरेको छ भने छिटो चाहिनेले शुल्क तिरेर द्रुत सेवा मार्फत सुविधा लिँदै आएका छन्।
आरटिजिएस प्रणाली सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार गर्नुपर्ने हुन्छ। जसमा राष्ट्र बैंकको निर्देशनअनुसार फाराम भरेर बैंकका प्रस्तुत गरेपछि भुक्तानीकर्ताले आफ्नो खातामा तत्कालै रकम प्राप्त गर्नेछ।
आरटिजिएस सिस्टम के हो ?
आरटिजिएस सिस्टम कुनैपनि रकम विना जोखिम कारोबारको तुरुन्त फछर्यौट गरिने पूर्ण विद्युतीय प्रणाली हो । जहाँ कुनै संस्था–संयन्त्रले ठूलो तथा सानो मूल्यको भुक्तानी ट्रान्सफर एंव हिसाव मिलान गर्ने गर्दछ ।
यस संयन्त्रले भुक्तानी दिनेको खाताबाट पैसा घटाएर भुक्तानी पाउनेको खातामा तुरुन्तै रकम जम्मा गरिदिन्छ । कुनैपनि व्यक्तिको एक बैंकमा रहेको खाताबाट दोस्रो व्यक्तिको अर्को बैंकमा रहेको खातामा तुरुन्तै भुक्तानी गर्न सकिन्छ ।
जसको लागि खातावाला व्यक्तिले सम्बन्धित बैंकमा गएर मेरो खाताबाट फलानो नाम गरेको व्यक्तिको फलानो बैंक खातामा यति रकम भुक्तानी गरिदिनु भनेर फारम भर्नु पर्दछ ।
त्यसपछि बैंकले सो व्यक्तिको खाताको पैसा तत्कालै दोस्रो व्यक्तिको बैंक खातामा भुक्तानी गरिदिन्छ।

























