मुख्य खबर

रिपोर्टर्स क्लबको गाइजात्रा विशेषमा व्यङ्ग्य गर्दै कलाकारले भने– नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन्

  • Avatar
    Aarthik

    २०७७ श्रावण २० गते, मंगलवार १९:२० मा प्रकाशित

काठमाडौं –  रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे । कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे ।

लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने,‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेश किन हालिन्छ भनी नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाइजात्रा मनाएको समेत उल्लेख गरे ।

आफूले ४० वर्ष गाइजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत बताए । सिंखडाले व्यंग्य गर्दै भने,‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाइजात्रा हो, आजको दिन कलाकारहरुले गरेको गाइजात्रा मात्र सत्य हो ।’
उनले सामाजिक, लैगिंक, राजनीतिक घटनाहरुलाई प्यारोडी मार्फत व्यंग्य गरेका थिए । सिंखडाले ऋषि धमलाको नाक लिम्पियाधुरासहितको नक्शा जस्तै रहेको भन्दै आफूलाई मन पर्ने बताए । उनले भने,‘ऋषि धमलाको नाक ठ्याक्कै लिम्पियाधुराको जस्तो छ, मलाई मन पर्छ ।’
हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाइजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी बा आफैमा गाइजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’

औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए । उनले भने,‘औषधीउपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन् ।’ प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले बेसार पानी खान भनेकोतर्फ व्यङ्ग्य गर्दै गीत समेत बजाए ।

कलाकारहरुमा देशको भुभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यङ्ग्य पनि गरे । दमनले डबलीबाट शुरु भएको गाइजात्रा डिजिटलमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले टिकटक बन्द गर्न माग गरे । उनले भने, ‘टिकटकले बेथिती ल्याएको छ, हेर्नैनसकिने भइसक्यो अब बन्द गर्नुपर्छ । ’

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितार्फत व्यंग्य गरेको थिए । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कवितामार्फत् उनले शिर्ष नेताहरुलाई सिस्नुपानी लगाएका थिए ।

हाँस्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन बैद्य किरणको क्यारीकेचर गरेका थिए ।

हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले २०७७ सालको गाइजात्राको शुभकामना दिदै गएको वर्षको जस्तो अहिलेको गाइजात्रामा व्यस्त हुन नपाएको बताइन् । कोरोना भाइरसको महामारीका कारण गाइजात्रा फरक किसिमको भएका भन्दै भाइरसको संक्रमणबाट जोगिन सबैलाई आग्रह गरिन् । डंगोलले अब आउने वर्षमा यस्तो समस्या नआउने विश्वास गरिन् ।

हाँस्य कलाकार दिनेश काफ्लेले गाइजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडिया प्रति व्यंग्य गरे । उनले कलाकारहरु मिडियामा भाइरल हुनुमा ऋषि धमलालको हात रहेको बताए । कलाकारहरुको विवादास्पद अन्तवार्ता लिएर धमलाले भाइरल बनाइदिएको बताए ।

कलाकार सन्दीप क्षेत्रीले मिठाइलालको क्यारिकेचरलाई लिएर कारबाहीका लागि गरेको सिफारिशलाई दुःखद भने । कलाकारले व्यङ्ग्य र क्यारिकेचर स्वतन्त्र र भयरहित तरिकाले गर्न पाउनुपर्ने बताए ।

उनले कलाकारले हराउदै गएको लवज (मिठाई लाल) को जर्गेना गर्दा कलाकार सन्दिप क्षेत्रीको विरोध हुनु दुखद भएको बताए । उनले भने, ‘कलाकारहरुले पुरानो परम्पराका लवजको जर्गेना गर्नुपर्छ, नत्र हराउछ ।’ उनले कलाकारहरु संयमित हुनुपर्ने भन्दै भुवन केसी र नायिका साम्राज्ञी शाह प्रति पनि व्यंग्य हाने । कलाकार दुर्गेश थापालाई प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलाले गाउन लगाएको गीतको कलाकारको नाम र गीत फरक भएको उक्त भिडियो निकै भाइरल भएको प्रसंगमा ऋषि धमलालाई व्यंग्य गर्दै काफ्लेले भने,‘रातारात कलाकार भाइरल हुनुमा ऋषि धमलाको पनि हात छ ।’

हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरुप्रति व्यङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ आफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए ।

उनले भने,‘भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्छ । नेकपा अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रको सिंखडाले क्यारिकेचर गरेका थिए । गाइजात्रा विशेषमा व्यंग गर्दै भने,‘दलालहरु कतिबेला कसलाई सिध्याउन पाइन्छ भनेर रातदिन लागेर बसेका छन् ।’ सिंखडाले नेताहरुले दुई वटा गाडी र दुई वटा घर जोड्न लागेको आरोप लगाउदै भने, ‘गाडी र घर बनाउने सोच सबै भन्दा सानो हो ।’
रिपोर्टर्स क्लब नेपालका सभपापति ऋषि धमलाले गाइजात्राको शुभकामना दिँदै कोरोना भाइरसको महामारीमा सुरक्षित भएर देशहितमा सक्रिय हुनुपर्ने बताए । गाइजात्रामा स्वस्थ र सभ्य तरिकाले आलोचना र व्यङ्ग्य गर्ने परिपाठी विकास भएको बताए । उनले गाइजात्रा महामारीको बीच पनि भौतिक दुरी कायम राखेर मनाइउनुले परम्परा महत्वपूर्ण र बलियो रहेको प्रमाणित भएको बताए । उनले भने,‘हिन्दु धर्म अनुसार गाईको महत्व धेरै छ यसको संरक्षण गर्ने हाम्रो दायित्व हो । त्यसरी नै हाम्रो चाडपर्व पनि संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा कलाकार शिव शंकर रिजाल (जोगिन्दर पानवाला) ले गीत र लामो कवितामार्फत सरकारलाई कडा रुपमा व्यंग्य हानेका थिए । अर्का हाँस्य कलाकार सुमन कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर नेताहरुलाई व्यङ्ग्य गरेका थिए ।

http://noc.org.np/