बुंगद्यो (श्रीरातो मत्स्येन्द्र नाथ) ऐतिहासिक-सांस्कृतिक रथजात्राको सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण
Friday Sep 04, 2020
वि.सं.२०७७ भदौ १९ शुक्रवार ०९:५७

काठमाडौं । हजारौं वर्षदेखि चलिआएको बुंगद्यो ९श्रीरातो मत्स्येन्द्र नाथ० ऐतिहासिक–सांस्कृतिक रथजात्राको विषयलाई लिएर २०७७ भदौ १८ गते ललितपुरको पुल्चोक क्षेत्रमा राज्यबाट भएको अपरिपक्व, गैरजिम्मेवार, संस्कृतिविरोधी तथा सुरक्षाकर्मीबाट भएको अनावश्यक बल प्रयोगको घट्नाप्रति नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड–१९ ले निम्त्याएको महामारीको अवस्थामा रथजात्राको विषयबारे स्थानीय अधिकारवाला सघसंस्था, पुजारी, ज्योतिष, भक्तजन, गुथियारहरूको तर्फबाट पटक–पटक गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, केन्द्रीय सरकार तथा राष्ट्रप्रमुखलाई समेत ध्यानाकर्षण गराउँदै जात्रा सञ्चालन गर्न गराउन निकासका लागि अनुरोध गर्दा पनि सरकारले लामो समयदेखि गैरजिम्मेवारीपूर्वक अनिर्णित अवस्थामा राखेको र समयमा उचित निकास नदिएको हुँदा भदौ १८ गते बिहिबार सरकार तथा सम्बन्धित सरोकारवालाहरूलाई दबाव दिनका लागि नेवार आदिवासीलगायत स्थानीय जनता, भक्तजन तथा संस्कृति सम्पदाप्रेमीहरू पुल्चोकमा स्वःस्फूर्त भेला भई रथजात्रा सञ्चालन गर्ने क्रममा सुरक्षाकर्मीको तर्फबाट अनावश्यक लाठ्ठीचार्ज, पानीको फोहरा, अश्रुग्याँस तथा बर्बर दमनको महासंघ घोर भत्र्सना प्रकट गर्दछ ।
नेपालको ऐतिहासिक–सांस्कृतिक सभ्यतासँग प्रत्यक्ष जोडिने र वर्षौंदेखि चलिआएको र मानिआएको रातो मच्छिन्द्रनाथ रथजात्रालाई निरन्तरता दिनका लागि ठोस निकास निकाल्नुको सत्ता स्वःस्फूर्त रूपमा रथजात्रा सञ्चालन गर्न आएका नागरिक, भक्तजन, संस्कृति तथा सम्पदाप्रेमीमाथि अनावश्यक बल प्रयोग गरी दमन गर्ने कार्यले परिस्थिति झन गम्भीर हुनसक्नेप्रति सचेत गराउँदै तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफल सहितको सहमतिमा निकास निकाल्न महासंघ विशेष अनुरोध गर्दछ । साथै, प्रहरीको झडप र धरपकडको क्रममा घाइते भएकाहरूको सरकारले उपचारको व्यवस्था गुर्नका साथै गिरफ्तार भएका भक्तजन तथा संस्कृतिप्रेमीहरूको बिना शर्त तत्काल रिहाइको महासंघ जोड्दार आग्रह गर्दछ ।

























