प्रधानमन्त्रीको नेपाल-चीन सीमा निरीक्षण ताप्लेजुङ आउने कार्यक्रम स्थगित
Tuesday Nov 17, 2020
वि.सं.२०७७ मंसिर २ मंगलवार १३:१०

फुङ्लिङ । प्रधानमन्त्रीको नेपाल(चीन सीमा निरीक्षण ताप्लेजुङ आउने कार्यक्रम स्थगित । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने जानकारी ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई आएको थियो । तर मंगलबार प्रधानमन्त्रीको सचिवालयबाट ५ गते ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको जानकारी आफूलाईं आएको प्रजिअ चापागाईँले बताए ।
जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका(६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।
यता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ कार्यक्रमस्थल सजावट सबै काम सकेको घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेको स्थानीय शेर्पाले जाकारी दिए ।
























