कश्मीर तनाव : भारत-प्रशासित कश्मीरमा नाटकीय घटनाक्रम
Thursday Aug 05, 2021
वि.सं.२०७८ साउन २१ बिहीवार २२:१७

काठमाडौँ । भारत-प्रशासित जम्मू-कश्मीरमा आइतवार राति नाटकीय घटनाक्रम विकसित भएको विवरणहरू प्राप्त भएका छन्।
नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ।
त्यहाँ मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ।
एक स्थानीय पत्रकारलाई उद्धृत गर्दै बीबीसी हिन्दीले श्रीनगरमा मानिसहरूको आवतजावत रोक्न संविधानको धारा १४४ लागु गरिएको जनाएको छ।
यो आदेशअनुसार मानिसहरूको आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन्। श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ।
श्रीनगरमा चार जनाभन्दा बढी मानिसलाई भेला हुन दिइएको छैन।
भारतले दशौँ हजार सैनिक कश्मीर उपत्यकामा खटाइसकेको छ।
आइतवार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ट्वीट लेख्दै कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने बताएका थिए।

























