समाजवादी कांग्रेसले गर्यो विरोध सभा, किन गर्दैछ चुनाब बहिष्कार ?
Thursday May 05, 2022
वि.सं.२०७९ वैशाख २२ बिहीवार १९:३६
काठमाडौँ । स्थानीय तहको चुनावले देश बिघठनको बाटोमा जाने भन्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल समाजवादी कांग्रेसले आज बिहिबार रत्नपार्क स्थित शान्तिवाटिकामा बिरोध सभा गरेको छ। बिरोध सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गोबिन्द निरौलाले चुनाव बहिष्कार गरेर देशलाई जोगाउन बिशेष अपील गरेका छन्।
सभालाई सम्बोधन गर्दै निरौलाले अदालतले बनाईदिएको प्रधानमन्त्री शेरबहादुर देउवा र देउवालाई प्रधानमन्त्री बनाउने न्यायाधिशको नियत नै देश बिघठन गराउनु रहेकाले जसरी हुन्छ चुनाब बहिष्कार गरेर मुलुक जोगाउनु पर्ने बताए। अझ संघियता र धर्म निरपेक्षताको भित्री मक्सद झन् डरलाग्दो भएको तर्क गर्दै निरौलाले अब आफ्नो पार्टीले त्यसको भण्डाफोर गर्दै सबैको हैसियत नेपाली जनता सामू प्रष्ट पार्ने प्रतिवद्दता समेत ब्यक्त गरे।
सत्ता गठबन्धनको चुनाबी सभामा देउवाले चितवनमा भाषण गर्दा गर्दै निरौलाले शान्तिवाटिकामा रहेको दिवंगत कांग्रेस नेता गणेशमान सिंहको शालिकका अगाडी उभिएर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको काढ्नु सम्म उछितो काढेका छन्। देशलाई बन्धकी राखेर गर्न खोजिएका सबै हर्कत परस्त गर्न समाजवादी कांग्रेस एक्लै काफी रहेको निरौलाको तर्क छ। देशको अस्तित्व नामेट पार्ने संबिधानको जगमा हुन लागेको चुनाब बहिष्कार गर्दै अर्कै संबिधान जारी गर्ने निरौलाले चेतावनी समेत दिएका छन्। त्यस्तै भारतीयलाई नागरिकता दिएर नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा अगाडी सारेको भन्दै निरौलाले देशलाई सिक्किमीकरण गराउने योजना रहेको र त्यसलाई निस्तेज पार्न समाजवादी कांग्रेस बलि चढ्न तयार रहेको समेत बताए।
आक्रामक शैलीमा प्रस्तुत भएका अध्यक्ष निरौलाले राजा बीरेन्द्रको हत्याकाण्डको नयाँ तरिकाले छानबिन गर्न समेत माग गरे। राष्ट्रियता, प्रजातन्त्र, राजसंस्था, हिन्दुराज्यको स्थापना गराएरै छोड्ने अठोट लिएको सो पार्टीले ग्रेट हिमालय जस्ता दिर्घकालिन महत्वका राजनीतिक र कुटनीतिक मुद्दा बोकेर नेपालको राष्ट्रिय राजनीतिको जग हल्लाउदै आएको छ। पार्टीले अगाडी सारेका मुद्दाले देशी र बिदेशी खुफिया एजेन्सीका कारिन्दाको टाउको दुखेको भन्दै निरौलाले आफ्नो पार्टी बिरुद्द चोरबाटो बाट नलाग्न चेतावनी समेत दिएका छन्। आफ्नो सामुन्ने आएर तर्क गर्न आग्रह गर्दै निरौलाले जस्ता सुकै अबरोध हटाएर भएपनि आफ्नो पार्टीको अभियान सफल पारेरै छोड्ने बताएका छन्।
उक्त बिरोध सभामा बोल्दै समाजवादी कांग्रेसकी बरिष्ठ उपाध्यक्ष पुष्पा राणा घलेले बैशाख ३० गते हुने चुनाब बहिष्कार गर्न आम स्वाभिमानी नेपालीलाई आह्वान गरेकी छन्। चुनाब लुटेरा हरूको लुटी खाने लाईसेन्सको नवीकरण मात्र भएको भन्दै उनले त्यो लाईसेन्सले नेपाल अस्तित्व नामेट पार्ने हतियार भएको बताईन।
नेपालको स्वाभिमान राख्न मात्र भएपनि चुनाब हर हातलमा बहिष्कार गर्ने पर्ने उनको तर्क छ। बिरोध सभामा पार्टी सचिव मान बहादुर गुरुङ्ग, सह(सचिव डाक्टर दुर्गा भुसाल, केन्द्रीय सदस्य चन्द्र पाण्डे, मनिता अर्याल लगायतले चुनाब बहिष्कार गरेरै छोड्नु पर्नेमा जोड दिएका थिए। पार्टी केन्द्रीय सदस्य बीरेन्द्र निरौलाले संचालन गरेको बिरोध सभाको उद्घाटन ओम बृद्दआश्रमका गणेश श्रेष्ठलाई एक थान ह्वील चियर प्रदान गरेर गरिएको थियो।























