ओलीले प्रचण्डलाई फोन गरेर आधा घण्टा सम्म के-के गरेछन कुरा ?
Thursday Nov 24, 2022
वि.सं.२०७९ मंसिर ८ बिहीवार २०:१४
मंसिर ४ को आमनिर्वाचनको परिणाम आइनसक्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संवाद सुरु भएको छ।
तत्कालीन नेकपा खारेज भएर तिक्तापूर्ण सम्बन्ध रहेका प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका हुन्। झण्डै आधा घण्टा नै भएको उक्त फोन संवादका क्रममा ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्।
स्रोतका अनुसार उक्त फोन संवादका क्रममा ओलीले यो निर्वाचनको परिणाम चिन्ता गर्ने किसिमको आएको बताउँदै यसले देशमा अस्थिरता ल्याउन सक्ने उल्लेख गरेका थिए।
प्रचण्डका प्रेस संयोजक सू्र्य किरणले दुई नेताबीच फोन संवाद भएको बताउँदै त्यसक्रममा बधाई साटासाट भएको उल्लेख गरेका छन्।
‘उहाँहरु दुई नेताबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट भएको छ’, उनले भने, ‘त्यसक्रममा कसरी जानेभन्ने अध्यक्ष ओलीको चासोमा प्रचण्डले भारी मतले विजयी हुनु भएकोमा बधाई दिएपछि कुरा सकियो।’
स्रोतका अनुसार ओली यो निर्वाचनको नतिजाबाट अलिक चिन्तित मुद्रामा देखिएका छन्। ओलीले मिलेर जाने विषयमा कुरा गरे पनि प्रचण्डले अलिक पछि कुरा गरौँ भनेका छन्।
‘प्रचण्डले अलिक पछि कुरा गरौँला भन्नु भएको छ’, स्रोतले भन्यो, ‘चुनावी नतिजा अलिक चिन्ताजनक आएको ओलीले दोहोर्याउनु भएको छ। यो परिणामले देशलाई अस्थिरतातिर लाने उहाँको सरोकार थियो।’
अहिलेको निर्वाचन परिणामले कुनै पनि दलको बहुमत आउन नसक्ने तस्बिर प्रष्ट भइसकेको छ। यस्तो अवस्थामा इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बर खड्काको कडा चुनौती सामना गरिरहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले बिहीबार बिहानै प्रचण्डलाई फोन गरे।
तर बधाई साटासाटका लागि खुमलटारमै व्यस्त प्रचण्डले उनको फोन उठाएनन्। त्यसको केही समयपछि इलाममा रहेका नेम्वाङको मोबाइल नम्बरमा प्रचण्डको फोन आयो।
उक्त क्रममा नेम्वाङले गोरखा २ बाट विजयी भएकोमा प्रचण्डलाई बधाई दिए। त्यसक्रममा प्रचण्डले पनि नेम्वाङलाई जितका लागि अग्रिम शुभकामना दिए।
नेम्वाङलाई प्रचण्डले फोन गरेपछि बधाई साटासाटसँगै उनीहरुबीच राजनीतिक भलाकुसारी पनि भयो। निर्वाचन परिणामअनुसार कसैको पनि बहुमत नआउने अवस्थामा अब मिलेर जाने विषयमा दुईजनाबीच कुरा भएको थियो।
‘नेम्वाङले अब मिलेर जाने विकल्पमा कुरा गर्न सकिने राख्नु भयो’, श्रोतले भन्यो, ‘प्रचण्डले चुनाव सकिएपछि काठमाडौं आउन निम्ता दिँदै त्यहीँ भेटेर छलफल गर्नुपर्छ भन्नुभयो।’
नेम्वाङले त्यही फोन संवादका क्रममा ओलीसँग फोन संवादका लागि प्रचण्डसँग समन्वय गरेका थिए। त्यसपछि बिहीबार अपरान्ह दुई शीर्ष नेताबीच फोन वार्ता भएको हो।























