ग्लोबल आइएमई बैंकको २ अर्ब ७८ करोड माथि खुद नाफा आर्जन

वि.सं.२०७९ माघ ७ शनिवार २०:५१

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंक अफ काठमाण्डूलाई गाभेपछि सबैभन्दा बढी चुक्तापुँजी रहेको यस बैंकले गत आवको तुलनामा नाफामा सुधार गर्न सफल भएको हो ।
बैंकले आर्जन गरेको यो नाफा गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७% ले बढी हो । गत आवको यसै अवधिसम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३६.४५% ले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ३.२०% ले बढेर ३ अर्ब ७९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी र संचालन नाफा बढेकाले बैंकको खुद नाफामा सुधार देखिएको हो ।
यता, पुस मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ ।
बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ ।