बीउ र यसको महत्व
Sunday Apr 16, 2023
वि.सं.२०८० वैशाख ३ आइतवार ०९:२८

राम प्रसाद गौतम
नेपाल कृषिवन बिऊबिजन केन्द्र, कोटेश्वर, काठमाडौँ ।
बीउ र बीउ प्रविधि भन्नाले बोटबिरुवाको एक अङ्ग एवम विषयवस्तु हो जसले बोटबिरुवाको उत्पादन, प्रसार, बीउविजनको वृद्धि र आपूर्तिसँग सम्बन्धित प्रविधि निर्धारण गर्छ । यसैले बीउ बोटबिरुवाको जीवित भ्रूण हो । बीउ खेतमा रोपेको अवस्थामा, बोटबिरुवामा रहँदा र भण्डारणमा रहँदाको अवस्थामा पनि यसमा नियमित रूपमा श्वासप्रश्वास भइरहेको हुन्छ । बीउ बोटबिरुवाको पुस्ता र पुनर्जीवनका लागि अनुवंश बाहक र बाली उत्पादनका लागि एक महत्वपूर्ण सामग्री हो ।
बीउको परिभाषा
जैविक रूपमा बीउ भन्नाले बिरुवाको एउटा परिपक्व भाग वा अङ्ग हो, साथै यो एउटा परिपक्व भ्रुण हो जसमा नयाँ उम्रने बिरुवाका लागि आवश्यक पोषणयुक्त खाने कुरा रहेको हुन्छ र बाहिरबाट यसलाई कडा बोक्राले सुरक्षित रूपमा घेरेर राखेको हुन्छ । यसरी माउ बोटमा परागसेचन भई विकसित भएको बीजाणु एवम भ्रुण नै बीउ हो र यो द्विगुणित प्रकृतिको अर्थात दुई सेट हुन्छ । पोषणयुक्त तन्तु दोहोरो परागसेचनको उत्पादन हो र यो त्रिगुणित अर्थात तीन सेट हुनुका साथै नयाँ बिरुवा उम्रन र बिरुवाको आफ्नै जरा र पातको विकास हुने समयसम्म बिरुवालाई चाहिने पोषण यसै तन्तुले स्टार्चका रूपमा उपलब्ध गराउँछ । बीउमा हुने यो पोषणयुक्त तन्तु बिरुवाको प्रजातिअनुसार फरकफरक हुन्छ ।
जस्तैः सिमीमा दूइदल हुन्छ भने मकैमा एकदल बीउ वा गुदी हुन्छ । यसरी बालीको प्रजातिअनुसार एकदलीय र दुइदलीय रूपमा बालीहरूको वर्गिकरण गरिएको छ । दुइदलीय बिरुवाको विकसित भ्रुणमा फग्लेटा, हाइपोकोटाइल, प्राथमिक जरा, प्राङकुर र माइक्रोफाइल हुन्छन्, जसले पानी सोसेर बीजङकुरणमा सहयोग गर्छन् । त्यसै गरी खाद्यान्न बालीको दानामा पूर्ण विकसित भ्रुण हुन्छ जसमा प्राङकुरचोल, स्कुलेटम, डिकुलम र कोलिओराइजा हुन्छन् । पोषक तन्तु भ्रुणपोष जुन पेरिकार्पसँग टाँसिएको हुन्छ, त्यसलाई बीउको खोलले ढाकेको हुन्छ ।

गुणस्तरयुक्त बीउका गुणहरु
गुणस्तरीय बीउहरू उन्नत जातरवर्णसङ्कर बीउहरू हुन् जुन आनुवंशिक रूपमा शुद्ध, उचित उमार शक्ति भएका, उचित भण्डार क्षमता भएका, हुष्टपुष्ट, अधिक उत्पादन दिन सक्ने हुन्छन् र झारपात र रोगजनित जीवाणुबाट मुक्त हुन्छन् । तसर्थ असल बीउमा आनुवंशिक, भौतिक, तौल, शारीरिक र बिरुवा स्वस्थताका गुणहरू पाइन्छन् जसको तल वर्णन गरिएको छ ।
बीउको स्वास्थ्यता
राम्रो उमार शक्ति र हुष्टपुष्टता भएको गुणस्तरीय बीउ कीराको नोक्सान तथा जीवाणु जस्तै ब्याक्टेरिया, भाइरस र ढुसी लगायतको प्रकोपबाट मुक्त हुनेछ ।
बीउको भौतिक शुद्धता
बीउ प्रमाणीकरणका क्रममा बीउको भौतिक शुद्धता कायम हुनका लागि समान आकार र प्रकारको बीउ हुनुपर्छ जसमा कुनै प्रकारको नोक्सानी र विकृति हुनु हुँदैन । कुनै जातको बीउ शुद्ध हुनका लागि त्यसमा निष्क्रिय पदार्थहरू जस्तै धूलो, माटोका कणहरू, खोस्टा, ढुङ्गाहरू तथा टुक्रिएका बीउहरू, अन्य जातका बीउहरू र झारपातका बीउहरू मिसिएको हुनुहुँदैन । बीउको भौतिक शुद्धता कायम राख्नका लागि बाली कटानी पश्चात बीउबाट चाउरिएका बीउहरू र रोग तथा कीराबाट नोक्सान भएका बीउहरू हटाइएको हुनुपर्छ ।
बीउको आनुवंशिक शुद्धता
बीउको आनुवंशिक शुद्धता कुनै पनि जातको वास्तविक अन्तर्वर्तित गुण हो । पुस्तामा आधारित बीउ उत्पादनमा गुणस्तरीय बीउको सुनिश्चितताका लागि बीउको आनुवंशिक गुण कायम गरिएको हुनुपर्छ ।
मुख्य खाद्यान्न एवं तरकारी बालीको वीउ उत्पादन, भण्डारण तथा गुणस्तर नियन्त्रण विधि यसरी उत्पादित पुस्ताका बीउहरू र माउ बिरुवामा गुणहरू एकै किसिमको हुनुपर्छ ।
बीउको तौल
बीउको सङख्या, लट र जातअनुसार बीउको आकार फरक–फरक हुन्छ । यो बीउको आनुवंशिक एवम भौतिक गुण हो र यो बीउको उमार शक्ति एवम हुष्टपुष्टतासँग गाँसिएको हुन्छ । यो बीउ बालीको किसिमनुसार निश्चित चिस्यान मात्रामा १,००० दाना तौलबाट मापन गरिन्छ । तसर्थ बीउ उत्पादनमा बाली कटानीपश्चात समान आकारका बीउलाई प्रशोधन गरी ग्रेडिङ गरिन्छ र चाउरिएको र पूर्ण विकसित नभएको बीउलाई बीउको लटबाट हटाइन्छ ।

चिस्यान मात्रा
बीउको चिस्यान मात्रा गुणस्तर निर्धारणको एउटा महत्त्वपूर्ण मापदण्ड हो जसले बीउका सम्पूर्ण जैविक प्रक्रियाहरू नियमन गरेको हुन्छ । बढी चिस्यान मात्रा भएमा उक्त बीउको उमार शक्ति, उमार क्षमता र हुष्टपुष्टता छिटै गुम्ने हुन्छ । तसर्थ उचित उमार शक्ति र बीउको हृष्टपुष्टताको सुनिश्चितताका लागि बीउमा सही चिस्यान मात्रा कायम गर्नु जरुरी छ । बीउलाई भण्डारणमा रोग र कीराबाट बचाउनका लागि पनि बीउमा उचित चिस्यान मात्रा कायम गर्नुपर्छ । बीउलाई ९ देखि १३ प्रतिशत चिस्यान मात्रा भएको अवस्थामा सुरक्षित भण्डारण गर्न सकिन्छ ।
बीउको उमार उमार
शक्ति गुणस्तरीय बीउको महत्वपूर्ण शारीरिक गुण हो जसले बीउको मूल्य, उपयोग र बालीको सफल उत्पादनमा प्रभाव पारेको हुन्छ । अनुकूल वातावरणमा बेर्नाको विकास र आवश्यक सबै संरचनाको विकास मार्फत परिपक्व बिरुवाको विकास गर्ने क्षमता नै बीउको उमार शक्ति हो । यो गुण फूल फुल्न सुरु गरेको केही दिनपश्चात विकसित हुन्छ र यो बाली प्रजातिको किसिम र पुष्प संरचनामा भर पर्छ । बीउको क्षमता र स्वयं समर्थता उमार शक्तिको तुलनात्मक वा पर्यायवाची शब्दका रूपमा प्रयोग गरिने प्रक्रिया हुन् ।
गुणस्तरीय बीउको महत्व
असल बीउ कृषिको एउटा महत्वपूर्ण सामग्री हो जसले प्रति एकाइ क्षेत्रफलमा बीउ बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्छ । खेतीका अन्य उत्पादन सामग्रीहरू र खेती प्रणालीको प्रभावकारिता कस्तो बीउ प्रयोग गरिएको छ । त्यसमा निर्भर गर्छ । कुनै निश्चित समयमा हुने जलवायु परिवर्तन, बढ्दो रोग महामारी तथा वातावरणीय प्रतिकूलतालाई कम गर्दै खाद्य सुरक्षालाई सुनिश्चित गर्ने काम गुणस्तरीय बीउले गर्न सक्छ ।
तसर्थ गुणस्तरीय बीउ खाद्य आपूर्तिलाई सुरक्षित राख्ने आधारभूत तत्व हो । बीउ धेरै कृषि प्रविधिसँग सम्बन्धित खोजहरू कृषकसमक्ष हस्तान्तरण गर्ने वाहक हो जसमार्फत कृषकहरूले नयाँ जातको आनुवंशिक क्षमता अधिक मात्रामा उपयोग एवम उपभोग गर्न सक्छन् । कृषिका अन्य उत्पादनका सामग्रीहरू जस्तै सिँचाई, मल, विषादि आदिको प्रभाव, दक्षता र बीउ बालीको उत्पादकत्व, गुणस्तरयुक्त बीउको उपलब्धता, पहुँच तथा आधुनिक उन्नत जातको प्रयोगमा निर्धारित हुन्छ ।

बीउले उत्प्रेरकको भूमिका खेल्नका लागि कृषकसमक्ष राम्रो र गुणस्तरीय बीउ पुग्नु जरुरी हुन्छ जसमा अधिक आनुवंशिक शुद्धता, सही जातीय पहिचान, अधिक भौतिक शुद्धता, शारीरिक गुणस्तर आदि हुनुपर्छ ।
बीउ प्रविधि एउटा विज्ञान हो जसले व्यवस्थित, तीव्र गुणात्मक रूपमा र समयमै कृषकहरूलाई उचित र खरिद गर्न सक्ने मूल्यमा बीउको आपूर्ति सुनिश्चित गर्दै कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउँछ । बालीको असल व्यवस्थापनबाहेक बीउ उत्पादनमा बालीयोग्य जमिनको आवश्यकता, पृथकता, रोगिङ र रोग–कीराबाट बीउ दूषित हुनबाट जोगाउने जस्ता कार्य अन्न बाली उत्पादनभन्दा फरक रहेको पाइन्छ ।
त्यस्तै बीउ बालीले राष्ट्रिय बीउविजन नियमावलीले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा गरेको हुनुपर्छ । प्रमाणीकरण निकायको प्राविधिक, प्रशासनिक र कानुनी नियन्त्रणले दिएको निर्देशनलाई अनुसरण गरी असल गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ जसले तोकेको मापदण्ड पूरा गरेको हुन्छ । नेपाल कृषिवन बीउ बिजन केन्द उत्पादक समूह र सहकारी संस्थाहरुले विभिन्न र आपूर्ति गर्ने गरेको छ ।
लेखक राम प्रसाद गौतम नेपाल कुषिबन बीउ बिजन केन्द्रका समेत प्रमुख कार्यकारी निर्देशक रहेका छन् । उनले विगत ३ दशकदेखी घाँस खेतीको व्यवसायिक विस्तार गर्दै विभिन्न खालका घाँसका विउ तथा विरुवाहरु समेत आफ्नो श्रोत केन्द्र मार्फत विक्रि समेत गर्दै आएका छन् ।




























