२७ औँ राष्ट्रिय चिया दिवस मनाइदैँ
Wednesday Apr 26, 2023
वि.सं.२०८० वैशाख १३ बुधवार २३:३१
अशिम सापकोटा
काठमाडौं । गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं भन्ने मुल नाराका साथ २७ औँ राष्ट्रिय चिया दिवस मनाउन लागिएको छ । यस बर्षको चिया दिवश १४ गते काठमाडौँमा र १५ तथा १६ गते भने इलामको फिक्कलमा विभिन्न चियाका टेस्टिङ्ग स्टल राख्दै मनाउन लागिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डकै सभाहलमा गरीएको पत्रकार सम्मेलनमा बोर्डका कारीकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपाली अर्थोडिक्स चियामा लागू हुने ट्रेसाविलिटी प्रणालीको सुरुवातसँगै राष्ट्रिय चिया उद्यमीहरूलाई सम्मान समेत गरिने समेत कार्यक्रम रहेको बताए ।
साथै उनले आ.व. २०७८÷०७९ को तथ्याङ्क अनुसार नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक टन चिया उत्पादन भएको र अहिले १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरू चियाको विभिन्न मूल्य श्रृङ्खलामा संलग्न रहेको बताए, साथै कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व.२०७८÷०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको छ ।
आ.व. २०७७÷०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८२५ मेट्रिक टन रहेकोमा आ.व. २०७८÷०७९ मा बढेर १३ हजार ८८५ मेट्रिक टन पुगेको पनि उनले बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता डा. दिपक खनालले गत वर्षहरूमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको बताए । नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरू खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामूलक बन्न नसकेको गुनासो गरे ।
नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धान नहुँदा नेपालको आफ्नै चियाको जात तथा प्रविधि विकास हुन नसकेको र चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको अभाव, भन्सार नाकाहरूमा निर्यात प्रवर्द्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिन सक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु, न्यून विनियोजित श्रोत÷साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको बताए । उनले बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुको विकल्प नरहेको पनि बताए ।
मुखको तलतल मेट्ने पेय मात्र रहेन, चिया । यो संस्कृति, पर्यटन र अर्थतन्त्रको आधार पनि हो । खासमा नेपालको सन्दर्भमा भन्दा चिया समृद्धिको एउटा संवाहक पनि हो ।
























