हेटौँडा उपमहानगरपालिकाद्वारा १३औँ नगरसभाको दोस्रो बैठकबाट २ अर्ब ६८ करोडको बजेट पास
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार १०:४७
मनहरी । हेटौँडा उपमहानगरपालिकाले १३औँ नगरसभाको दोस्रो बैठकबाट २ अर्ब ६८ करोड ६० लाख १ हजार आठ सयको बजेट पास गरेको छ ।
यसअघि हेटौँडा उपमहानरगपालिकाले आव २०८०र८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सयको अनुमानित बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारको विभिन्न शीर्षकका थप हुने रकमसहित आज बसेको नगरसभाको बैठकबाट सर्वसम्मतरूपमा बजेट पास गरेसँगै हेटौँडा बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तार गर्ने निर्णय सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरूपमा बजार क्षेत्रलाई फराकिलो बनाउने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए।
सडक विस्तारका विषयमा जिल्लाका दलबीच मतभिन्नता भइरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेको हो । डिभिजन सडक कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो ।
क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ तर अब बजार क्षेत्रको बाटो फराकिलो हुन्छ”, प्रवक्ता न्यौपानेले बताए।
बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, न्यायिक समितिबाट २०७९र८० मा भएका कार्यसम्पादनलाई पास गरेको प्रवक्ता न्यौपानेले बताए। नगर सुन्दर बनाउने योजनाका साथ बजार क्षेत्रका सडकलाई अब विस्तार गर्ने निर्णय भएकोे हो ।
यस्तै बैठकले उपमहानगर क्षेत्रभित्र सुर्तीजन्य पर्दाथ बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका लागि ऐन बनाएर कार्यविधि ल्याई लागू गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए।
























