युएईविरुद्व संघर्षपूर्ण जित निकालेको नेपालले सातौ स्थानका लागि आयरल्यान्डसंग खेल्ने
Sunday Jul 02, 2023
वि.सं.२०८० असार १७ आइतवार २१:५४
काठमाडौं । युएईलाई पराजित गरेर जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ ।
जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । टस हारेपछि पहिले व्याटिङको निम्तो पाएको युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले । ६३ रनमा ६ विकेट गुमाईसकेको नेपालका लागि दीपेन्द्र र गुलसन झाले सातौं विकेटका लागि ४६ बलमा ४३ रनको साझेदारी गरेर खेलमा फर्काउने कोसिस गरे ।
गुलसन १२ रन बनाउँदै रोहन मुस्ताफाको बलमा आउट भएपनि आठौं विकेटका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर ९० बलमा ७९ रनको विजयी साझेदारी गरे । सन्दीपले ३७ बलमा २ चौकाको मद्दतमा अविजित २३ रन बनाए ।
युएईका लागि मुहम्मद जवादुल्लाहले सर्वाधिक तीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।
जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
पराजित युएईले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
























