५० भन्दा बढी भेडा बाख्रा पाल्ने मुगुका ५३ कृषक नगदसहित सम्मानित
Sunday Jul 23, 2023
वि.सं.२०८० साउन ७ आइतवार २०:३४
मुगु । हिमाली जिल्ला मुगुमा पशुचौपाया पाल्ने किसानहरुलाई प्रोत्साहित गर्ने नीति लिइएको छ । यस क्रममा चार स्थानीय तहमा रहेका उत्कृष्ट ५३ जना कृषकहरुलाई नगद १८ हजार र प्रमाण पत्र खादा सहित सम्मानित गरिएको छ ।
चरी चरनको उपयुक्त क्षेत्र रहेको मुगुका भेडा, खसी,मासु ,उनको पर्याप्त मात्रामा माग स्थानीय स्तरमा नै बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा ५० भन्दा बढी भेडा बाख्रापालन गर्ने कृषकहरुलाई सम्मान तथा पोषण सेवा दिने नीति लिएपछि किसानहरु उत्साहित छन् ।
मुगु जिल्लामा भेडा बाख्रा पाल्ने कृषकहरुको संख्या बढेसँगै चार स्थानीइय तहमा रहेका उत्कृष्ट ५३ जना कृषकहरुलाई जनही नगद १८ हजार र प्रमाण पत्र खादा सहित सम्मानित गरिएको हो ।
१०÷१२ बर्ष पहिलादेखि नै भेडा बाख्रा पाल्दै घर खर्च चलाउने र बाल बच्चाको पठन पाठन खर्च पुर्याउँदै आएका छाँयानाथ रारा नगरपालिका ११ का किसान तुलराम बूढा सम्मानित हुन पाएकोमा खुसी छन् ।
पछिल्लो समयमा कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा बाख्रा पाल्ने कृषकहरुलाई अनुदानमा सोलर,पाल,रेनीकोट दिनुका साथै नगद पुरस्कार सहित थप सम्मान गर्न थाले पछि बूढा निकै खुसी भएका छन् ।
जिल्ला समन्वय समिति मुगुका संयोजक मञ्जन बहादुर कार्कीेले कृषकहरुले मिहिनेत गरेर आउँदा दिनहरुमा सरकारको लक्ष्य अनुसार भेडा बाख्रा पाले थप लाभान्वित हुँदै जाने बताए ।
यस्तै नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले सबै किसानहरुको समस्यालाई सम्बोधन गर्न आवश्यक रहेको भन्दै यस्को नीतिले किसानहरु थप उत्साहित बन्ने बताए ।
तया पशु अस्पताल तथा पशु कार्यालय मुगुका प्रमुख भीम चन्द्र बूढाले हिमाली जिल्लाका नागरिकलाई भेडा बाख्रा पालनबाट आत्मनिर्भर बनाउन यस्ता नीतिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पुरस्कारका लागि मुगुका चार स्थानीय तहमा रहेका ४ सय ५६ जना कृषकहरुको निवेदन परेको थियो । जस अनुसार छनोट गर्दा वास्तविकरुपमा ३ सय ९३ भेडा पालक किसान भेटिएका थिए । जस्मा ५३ जना कृषकहरुको छनोट गरी प्रदेश सरकारको नीति अनुसार बार्षिक प्रति ब्यक्ति १८ हजार नगद र प्रमाण पत्र सहित खादा लगाएर उनीहरुको सम्मान गरिएको थियो ।
























